पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुलनाराका साथ ३ वर्षदेखि पोखरालाई केन्द्र मानेर निरन्तर संचालन भएको हाइकिङ भाग ३० को श्रृङ्खला गत शनिबार मादी गाउपालिका वडा नं. ६ स्थित थाक गाउँमा सम्पन्न भएको छ ।

पहिलोपटक हाईकिङमा सहभागी पोखरा उद्योग वाणिज्य संघका पुर्व कार्यसमिति सदस्य तथा पोखरा ग्राण्ड टुर्स एण्ड ट्रावल्सका संचालक किर्तिभल्लव त्रिवाठीले राज्यको लगानी विना पर्यटनको विकासमा योगदान दिने कार्य गरेकोमा हाइकर्स क्लब नेपाललाई धन्यवाद दिनुभएकाे थियाे । उहाँले आफ्ना ग्राहकका लागि डे हाइक तथा सर्ट ट्रेकिङ रुटको रुपमा थाकलाई प्रमोसन गर्ने पनि बताउनुभयाे ।
हाइकिङमा सहभागी अर्का पर्यटन व्यवसायी कृष्ण क्षेत्रीले ग्रामिण क्षेत्रको प्रबद्र्धनमा हाइकर्स क्लबले खेलेको भुमिका अतुलनिय रहेको बताउँदै हरेक महिनाको अन्तिम शनिबार हुने हाइकिङलाई १५÷१५ दिनमा गर्न सुझाव दिनुभएकाे थियाे ।
अहिलेको जिवन सैली अत्यन्तै व्यस्ततामा वितिरहेकोले महिनाको कम्तिमा एक पटक ७÷८ घण्टा हिड्नु र ग्रामिण परिवेशको अध्ययन अवलोकन गर्नुले व्यक्तिको कार्य क्षमतामा वृद्धि हुनुका साथै महिना भरीको थकान मेटिने हाइकिङका संयोजक पत्रकार कृष्ण रानाभाटले बताउनुभयाे ।
स्थापनाको समयदेखि हाइकिङमा सहभागी हुँदै आएका रेडियो सफलताका संचालक मधु अधिकारीले हाइृकिङमा सहभागीहरुको रुचि वड्दै गएकोले सम्बन्धित निकायमा दर्ता गरेर विधिवत रुपमा संचालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएका थियाे ।
शनिबार विहान ८ वजे पोखरा १३ काहुँखोलामा भेला भइ सार्वजनिक वसमा थाकसम्म गएको र दिन भर थाक गाउँमा अवलोकन भ्रमण, एकआपसमा परिचय तथा स्थानीय समाजसेवी उमेश मगरले खानपिनको व्यवस्थापन गरेको सो हाइकिङमा गृहणी, विद्यार्थी, व्यवसायी समेत १८ जनाको सहभागिता रहेको थियो ।