खोटाङ । खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी बालिका मृत अवस्थामा भेटिएकी छिन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी १७ वर्षीया रञ्जिता दाहाल आज सोमवार बिहान घर नजिकै खन्युको फेदमा मृत भेटिएकी हुन् ।
आइतवार दिउँसो घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेकोजस्तो अवस्थामा भेटिएको खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताउनुभयो । शवको पोस्टमार्टमपछि बालिकालाई ‘हत्या गरेर झुन्ड्याइएकोजस्तो बनाउन खोजिएको वा आफैँ झुन्डिएको’ विषय खुल्ने प्रहरीले जनाएको छ ।
साथीसँग छुटेपछि सम्पर्कविहीन बनेकी दाहालको शव पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताउनुभयो । ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई स्थानीयवासीले शङ्कास्पद मानेका छन् ।