काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने बताउनुभएकाे छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले रेशम चौधरीसहित थारु बन्दीहरु रिहा नभएसम्म आफूहरु प्रतिपक्षमै बस्ने बताउनुभयाे ।
‘तपाईंको सरकारलाई विश्वासको मत दिन्छौं, किनभने राष्ट्रपतिसमक्ष हस्ताक्षर गरेर समर्थन जनाइसकेपछि हामी झुटा हुन चाहँदैनौं’ उहाँले प्रधानमन्त्रीलाई भन्नुभयाे, ‘धेरै माननीयलाई लाग्ला विश्वासको मत दिएर पनि किन प्रतिपक्षमा भन्ने, यसको उत्तर तपाईंसँगै छ ।’
प्रधानमन्त्री प्रचण्डले दिएको मौखिक वाचा पूरा भएको भए आफूहरु सत्तापक्षकै कुर्सीमा बस्ने थियौं भन्दै अध्यक्ष श्रेष्ठले भन्नुभयाे, ‘जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म हामी प्रतिपक्षकै कुर्सीमा बस्नेछौं ।’
प्रधानमन्त्री नियुक्तिका लागि प्रचण्डलाई समर्थन गरेपछि आफूहरु निरन्तर मतदाताको सम्पर्कमा रहेको भन्दै उहाँले मतदाताले सरकारमा नजान खबरदारी गरेको पनि बताउनुभयाे ।
‘मतदाताहरुले हामीलाई भनेका छन्, सम्पूर्ण कारागारमा रहेका थारु बन्दीको रिहा नभएसम्म मन्त्रालयको दैलो नटेक्नू’ अध्यक्ष श्रेष्ठले भन्नुभयाे ।
onlinekhabar