काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ नेपाल आइपुग्नुभएकाे छ । उहाँ केहीबेर अघि काठमाडौं आइपुग्नुभएकाे हाे। सोङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायतका चिनियाँ दूतावासका अधिकारीले स्वागत गर्नुभएकाे छ।
चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा सोङलाई नियुक्त गरेको हो। उहाँ एसिया मामिलाका विज्ञका रूपमा चिनिनुहुन्छ।
नयाँ राजदूत छन् सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल हुनुहुन्छ। उहाँ नेपाल मामिलाका जानकारसमेत मानिनुहुन्छ। त्यसैले बेइजिङले एसिया मामिला हेर्ने पाँचजना डेपुटी डाइरेक्टर जनरलमध्ये छन्लाई नेपालको राजदूतमा नियुक्ति गरेको थियो।
स्वास्थ्यमा समस्या आएपछि राजदूत सोङ निर्धारित मितिभन्दा करिब दुई हप्ता ढिला नेपाल आउनुभएकाे हाे। यसअघि उहाँ १२ पुसमा काठमाडौं आउने तालिका थियो। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार नेपाल आएपछि नयाँ चिनियाँ राजदूत केही दिन क्वारेन्टीनमा बस्नुहुनेछ।