काठमाडौं । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले नेपाल टी-२० लिगमा मंगलबार बिहान खेलाडी जिम्मेवार पक्षलाई अगाडि आउनु मात्र भनेको बताउनुभएकाे छ । जारी लिगअन्तर्गत आज बिहान तय भएको काठमाडौं र विराटनगर सुपर किङ्ग्सबीचको खेलअघि खेलाडी टस गर्न मानेका थिएनन्।
‘मुख्य कुरा पेमेन्टको नै थियो,’ज्ञानेन्द्रले भने, ‘हामी र टिम अनरबीच कम्युनिकेसन ग्याप भइरहेको छ। त्यही भएर जिम्मेवार पक्ष अगाडि आइदिनुस् भनेर पहिले ‘कंक्रिट’कमिटमेन्ट गरियोस् भनेको हो।’
कप्तान ज्ञानेन्द्रले खास के भइरहेको छ भन्ने नै थाहा नभएकाले मैदानमा पहिले कुरा सुनिदिनुहोस् भनेको बताउनुभयाे।
‘पहिले भएका बाचाहरू पूरा हुनुपर्ने थियो, हुनुपर्ने भन्ने थियो। जो आउनुपर्ने सम्पर्कमा आउनु भएन, त्यही भएर कन्सर्न देखाएको हो,’ज्ञानेन्द्रले भन्नुभयाे, ‘प्राय टिमको अवस्था यही छ। विदेशी खेलाडी जाने, नमान्ने कुराले गर्दा विवाद भएको हो।’
नेपाल क्रिकेट संघ (क्यान)ले आज रातिसम्म पारिश्रमिक दिने आस्वासन दिएपछि खेल सुरु भएको ज्ञानेन्द्रले बताउनुभयाे।
‘आज रातिसम्म सबै कुरा हुने भन्ने तयारी छ। हुन्छ भन्ने आसमा छौं,’उहाँले भन्नुभयाे, ‘भएन भने भन्दा पनि हुन्छ भन्नेमा आशावादी छौं। भएन भने त्यही बेला निर्णय होला।’ टिम मालिकसँग कुराकानी नभएको र टिम व्यवस्थापक तथा कप्तानहरूले कुरा गर्दा पनि ठोस कुरा नआएको उहाँले बताउनुभयाे।
‘यो सबैभन्दा ग्रान्ड टुर्नामेन्ट र जिम्मेवार पक्षबाट हुँदा अझै ढुक्क हुन पाइन्छ भन्ने आश हुन्छ,’ज्ञानेन्द्रले भन्नुभयाे।
annapurnapost