नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालका लागि अमेरिकी राजदूत डी.आर. थम्प्सनले बधाई दिनुभएकाे छ । उहाँले आज बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् प्रचण्डलाई बधाई दिनुभएकाे हाे ।
उहाँले लेख्नुभएकाे छ, ‘प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई हार्दिक बधाई । प्रजातन्त्र, मानवअधिकार र आर्थिक समृद्धिका लागि ७५ वर्ष लामो द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने अपेक्षा छ ।’
हालसालै नियुक्त भएका राजदूत थम्प्सनले निर्वाचन सम्पन्न भएलगत्तै राजनीतिक दलका नेताहरुसँग बाक्लो भेटघाट गर्नुभएकाे थियाे । भेटका क्रममा उहाँले सत्ता समीकरणका विषयमा चासो राख्नुभएकाे थियाे । प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा भारत र चीनले आइतबार नै बधाई दिएका थिए ।
