पोखरा । २०६४ सालमा दुर्घटना एउटा खुट्टा गुमाएपछि नीलम ढुंगानाको आत्मविश्वास पनि भाँच्चिसकेको थियो । दुर्घटना हुनुअगाडि शौखले नृत्य गर्दै आउनुभएकी उहाँलाई उभिने खुट्टा नै गुमाए पछि धेरै थोक गुमाएझैं लाग्यो । तर, उहाँको जीवनमा यस्तो पनि मोड आयो, जुन मोडबाट उभिन मात्रै सिकिनन्, एउटै खुट्टाको बलमा उभिएर फनफनी नृत्य गर्न सकिन् । आज देशमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरका मञ्चमा पनि उहाँको माग बढ्दो छ । आज देशकै सफल नृत्यंगनामा उहाँ दरिनुहुन्छ ।
त्यो नीलमले देखाएको आँत थियो, र हजारौं अपांगता भएका व्यक्तिका लागि अजरअमर हिम्मत । ‘म अरुभन्दा फरक देखिन्छु भनेर नृत्य गरेको पनि होइन । दुर्घटनापछि मलाई आत्मविश्वास पनि थिएन । यसरी बोल्न पनि सक्दिनँ थिएँ ।
कहीं कन्फिडेन्स थिएन, सेल्फडाउट थियो,’ ढुंगाना सुनाउँछिन्, ‘तर,जुन चिजसँग प्यासिनेट भइन्छ, कहीं न कहींबाट डोर्याएर ल्याउने रहेछ ।’ पोखरामा जारी नवौं नेपाल लिटरेचर फेस्टिबलको तेस्रो दिन भएको ‘फरक,अब्बल’ सत्रमा ढुंगानाले कलाकार सुजल बम र अमीर बोम्जनसँग आफ्नो भोगाइहरु साझा गर्नुभएकाे हाे । सत्रको सहजीकरण पत्रकार गजेन्द्र बुढाथोकीले
गर्नुभएकाे थियाे ।
नीलमले एउटै खुट्टाको बलमा नाच्न थालेको २०१३ देखि हो । त्यतिबेला पनि आफ्नो कमजोरी लुकाउन ‘आफ्नै बिजोग देखाएर किन नाच्ने ?’ भन्ने लाग्ने गरेको उहाँको अनुभव छ । ‘सायद ममा पनि चेतना थिए । डर, लाज मलाई पनि लाग्थ्यो,’ उहाँले भन्नुभयाे, ‘कसैले केही भन्ने हुन् कि मन नपराइदिने हुन् कि भन्ने लाग्थ्यो ।’ तर, अहिले आफ्नै प्रस्तुतिले दर्शकको सोच बदल्न सकेकोमा भने उहाँ खुसी हुनुहुन्छ ।
पहिले अपांगता भएका व्यक्तिहरुको कुरा काट्नेहरु पनि आफूहरुको सफलतामा खुसी हुन थालेको उहाँको अनुभव छ । ‘पर्फमेन्स अघि र पछि व्यवहार फरक हुन्छ । काहीं न काहीं उहाँहरुको सोच बदल्न सकेको रैछु नि भन्ने हुन्छ,’ उहाँले भन्नुभयाे । उस्तै कथा छ, कलाकार सुजल बमको पनि । पछिल्लो समय चर्चामा आएको सामाजिक सञ्जाल ‘टिकटक’लाई प्रयोग गर्दै बम कलाकारितामा प्रवेश गर्नुभएकाे हाे । सत्रमा बमलाई अनुवादक रश्मि निरौलाले सहयोग गर्नुभएकाे थियाे । उहाँले अहिले ‘
लिपसिङ’कै आधारमा थुप्रै म्युजिक भिडियोमा मोडलिङ पनि गरिसक्नुभएकाे छ ।
सुदूरपश्चिमको डोटीबाट काठमाडौं आएर संघर्ष गरेकी बमले आफू बहिरा भएकै कारण थुप्रै ठाउँमा समस्या भोग्नु परेको सुनाउनुभयाे । मिस एसईई २०१९ मा भाग लिएर चौथो स्थान ल्याएकी उनी त्यतिबेला दोभाषे नहुँदा पनि आफू हिम्मत गरेर उक्त प्रतियोगितामा भाग लिएको बताउनुभयाे ।
‘१० कक्षापछि मिस एसईईमा भाग लिएकी थिएँ । त्यसमा पनि दोभाषेको व्यवस्था थिएन । दोभाषे नहुँदा धेरै समस्या भोग्नुपर्यो,’ बम सुनाउँनुहुन्छ, ‘तर, जे गरें आफ्नै बलबुत्ताले गरें । साथ बाबाको पनि रह्यो ।’डोटीबाट सुरुमा धनगढी आएको तर, बहिरालाई पढ्ने व्यवस्था नभएकै कारण पछि सिन्धुपाल्चोक गएको बमले सुनाउनुभयाे । त्यसपछि उहाँ काठमाडौं आउनुभयाे ।
काठमाडौं नक्सालमा बहिरा स्कुलबाट उहाँले २ कक्षादेखि एसईईसम्मको पढाइ पूरा गर्नुभएकाे थियाे । ‘होस्टल बसेर पढेको हुँ । होस्टेल कति फोहोर थियो, कुनै व्यवस्थित नै थिएन । खेल्ने साथी पनि थिएन, खाली त्यो सांकेतिक भाषा सिक्नका लागिमात्रै थियो,’ सुजलले भन्नुभयाे । तर, त्यहाँ उहाँले आफूले केटा साथीहरु नाचेको देखेरै नाच्न सिकेको खुसी हुँदै सुनाउनुभयाे ।
साथीहरुको सिको गर्दै नाच्न सिक्दासिक्दै कोरोना महामारीले कक्षा रोकियो । त्यसपछि उहाँले आफूलाई भुलाउन टिकटकमा नाचेको भिडियो पोस्ट्याउन थाल्नुभयाे । गीत नसुने पनि ओंठको चालका आधारमा आफ्नो नृत्य चाल पहिल्याउन थाल्नुभयाे । ‘सुरुमा नाच सिक्छु भन्दा पनि बहिरा भनेर कसैले सहयोग गरेन । तर, कोरोनाका बेला टिकटकमा नृत्य गर्दै भिडियो हाल्न थालें । धेरैले मन पराइदिनुभयो,’ उहाँले भन्नुभयाे ।
कलाकार सुजल बम आफूहरुलाई बहिराको साटो लाटा भनिदिँदा दुख लाग्ने गरेको दुखेसो पोख्नुभयाे । आफूहरुको पनि भावना हुने भएकाले त्यसलाई सम्मान गरिदिन उहाँले आग्रह गर्नुभयाे । कलाकार ढुंगानाले अपांगता भएका व्यक्तिहरुलाई अवसर सपांग व्यक्तिले नै दिनुपर्ने धारणा राख्नुभयाे । अपांगता भएका व्यक्तिहरु पनि अवसरकै खोजीमा हुने भएकाले त्यसमा व्यक्ति, समाज र राज्य सबै उत्तिकै जिम्मेवार हुनुपर्ने सुझाउनुभयाे।
‘अवसर दिने अपांगता नभएकाले नै दिने रहेछ । जिम्मेवारीचाहिँ व्यक्ति, समाज र राज्य सबैको हुँदो रहेछ,’ उहाँले भन्नुभयाे, ‘जब हाम्रा मुद्दाहरु स्वीकारिन्छन्, तबमात्रै हाम्रो सम्मान हुन्छ । नत्र त विभेद कहाँ हुँदैन ? त्यसको पनि आफैं विरोध गर्न सक्नुपर्छ ।’
संसार चियाउने हुट्हुटीले कलाकार ! घरअगाडि गुम्बा भए पनि अमीर बोम्जन कहिल्यै त्यहाँ पुग्न पाउनुभएन । नजिकै हरियो फैलिएको पहाड थियो, उक्लिन पाउनुभएन । पाठशाला थियो, अक्षरसँगै यात्रा गर्न पाउनुभएन ।
कारण थियो, बोम्जनको जन्मजात घाँटीभन्दामुनिको भाग नचल्नु । जहाँ देख्नुहुन्थ्याे अँध्यारोमात्रै देख्नुहुन्थ्याे, जे सोच्नुहुन्थ्याे एक्लोपनबाहेक केही पनि अनुभव गर्नुहुदैनथ्याे । तर, अमीर त्यही एक्लोपनको बलमा उभिएर आज अन्तर्राष्ट्रियस्तरको कलाकार बनाउनुभएकाे छ । गीतकार, गायक बनाउनुभएकाे छ ।
‘जब एक्लो थियो, एकान्त थियो । साथी खोज्दा साथी भेटिँदैन थियो । केवल सुनसानमात्रै थियो । र, त्यो सुनसानभित्र पनि कतै आवाज आएकोजस्तो । बतासले बालोएजस्तो, रुखका पातले बोलाएजस्तो महसुस हुन्थ्यो,’ अमीर सुनिए, ‘चाहना थियो या थिएन, आफ्नो एक्लोपन भुलाउन कोशिष गरिरहें । प्रकृतिलाई साथी बनाएर गीत गाउने लय हाल्ने भएर गीत गाउने भएको हुँ, चित्र बनाउने भएको हुँ ।’
पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिभलमा अमीरको चित्रकला पनि प्रदर्शनमा छ । आफूले सधैं देख्ने गरेको तर, कहिल्यै टेक्न नपाएको घर नजिकैको गुम्बाबाट आफूले कलायात्रा सुरु गरेको बोम्जन सुनाउँनुहुन्छ । ‘मेरै घरबाट हेरिराखेको गुम्बा थियो । त्यो गुम्बामा पुग्न मन लाग्थ्यो, आफ्नो कुरा सुनाउन मन लाग्थ्यो,’ उहाँले भन्नुभयाे, ‘टाढाबाट भगवानले मेरो कुरा सुनेन भन्ने
लाग्यो । अचानक गुम्बाकै स्केच बनाइसकेको रैछु ।’
बोम्जनले घर नजिकै माथिको अनिता लामा ‘दिदी’बाट अक्षर सिक्ने मौका पाएको सुनाउनुभयाे । त्यहीबेल सिकको अक्षरले नै आज आफूलाई यो स्थानसम्म उभ्याउन पाएको बताउनुभयाे । ‘चित्र गर्दा कति रमाइलो लाग्थ्यो, मनको पीडा चोट, भोगाइ आउँथ्यो । पीर आउँथ्यो । तर, बाहिर ल्याउन सकेको थिएन । तर, पछि भूकम्प (२०७२) आयो ।
त्यतिबेला मैले आफूमा पनि केही कला छ है भन्ने जान्ने मौका पाएँ,’उहाँले भन्नुभयाे, ‘गिलासमा पानी भएर पनि फैलिन पाएको छैन भन्ने लाग्यो । भूकम्प आएर गिलासलाई लडाइदियो र पानी जताततै फैलियो ।’ बोम्जनले आफ्नो कलामा भावना र प्रकृतिको संयोजन नै धेरै प्रयोग हुने बताउनुभयाे । सानैदेखि सधैं आफू एक्लै बस्नुपर्दा आफ्नो पेन्टिङमा पनि त्यही भाव झल्कने उहाँको भनाइ थियो ।
‘आमा काममै, बुवा बाहिर । भाइ पढ्न जान्थ्यो । मसँग हुन्थ्यो त केवल भित्ता,यही वरिपरिको प्रकृति हो,’ उहाँले भन्नुभयाे, ‘त्यसैलाई मैले साथी बनाए, मित्रता गाँसे । यही प्रकृतिलाई प्रेम गरेरै पेन्टिङमा यही देख्न पाएको हो ।’