अबुजा । नाइजेरियामा फैलिएको हैजाको प्रकोपबाट मृत्यु हुनेको संख्या ५१ जना पुगेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले हैजाबाट ५१ को ज्यान गएको जानकारी गराएका हुन् ।
उनीहरुका अनुसार नाइजेरियामा सोमबार एकै दिन ३१ जनाको ज्यान गएको हो । यसअघि आइतबारसम्म २० को ज्यान गएको बताइएको थियो ।
नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको समाचारमा जनाइएको छ । ज्यान जानेमा सोही राज्यका नागरिक बढी रहेका पनि समाचारमा उल्लेख गरिएको छ ।
उक्त राज्यको स्थानीय अबि क्षेत्रका १० गाउँमा बढी मात्रामा हैजाको प्रकोप फैलिएको उनीहरुको भनाइ छ । नाइजेरियाली सरकारले यहाँका १० ओटा गाउँमा हैजा फैलिएको पाइएकोले त्यसको अनुसन्धान थालिएको जनाएको छ । यहाँका ती गाउँमा मात्र सयौँ मानिस बिरामी भइ अस्पताल भर्ना भएका छन् ।
सरकारले ती क्षेत्रमा सफा पानीको प्रबन्ध र सरसफाईका कामलाई अघि बढाएको जनाएको छ । साथै गाउँलेहरुलाई सरसफाईसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको बताइएको छ ।
घना बस्तीहरुमा खानेपानी, सरसफाई तथा अन्य आवश्यक स्वास्थ्य पूर्वाधारको अभावमा नाइजेरियामा हैजाको प्रकोप बारम्बार फैलिने गरेको छ ।
रासस