निजी क्षेत्रद्वारा आयोजित विराट एक्स्पोको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने भएकाे छ । एक्स्पो उद्घाटनका लागि राष्ट्रपति दिउँसो १ बजे विराटनगर आइपुग्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति आउने भएपछि विराटनगर लगायत वरपरका स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसमा आगामी पुस ६ गतेसम्म एक्स्पो सञ्चालन गरिने छ ।
एक्स्पोका संयोजक भोलेश्वर दुलालले नयाँ प्रविधिको प्रयोग गरेर विगतको भन्दा फरक र भव्य तरिकाले एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिनुभयाे । उहाँका अनुसार प्रविधिसँगै एक्स्पोमा रोबटसँग भेटघाट, भीआरबाट पर्यटकीय क्षेत्रको अवलोकन गराउने, माउण्टेन फ्लाइट, कृषि, पर्यटनको छुट्टै पेभेलियन रहेको छ।
उद्योग, व्यवसाय, कृषि, पर्यटनलगायतका क्षेत्रमा काम गर्न चाहनेहरूका लागि एक्स्पो उपयोगी हुने उहाँले बताउनुभयाे । विभिन्न क्षेत्रका ४ सय ७५ प्रवद्र्धकहरू सहभागी हुने भएकाले नयाँ उद्यम गर्न चाहनेहरूका लागि एक्स्पो महत्वपूर्ण रहेको दुलालको भनाइ छ । एक्स्पोको अवलोकनका लागि ३ लाख बढी अवलोकनकर्ताहरू आउने अनुमान गरिएको छ ।
''फालिएका प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीहरुको पुनः प्रयोग गर्नुपर्दछु भन्ने सचेतना अभिवृद्धि गर्ने एक्स्पोको मुख्य उद्देश्य छ । त्यसका लागि प्लाष्टिकजन्य प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योगहरुको संस्थासँगको सहकार्यमा रिडियुस्, रियुज र रिसाइकल थिममा फेसन–शो हुनेछ । मोडलहरुले त्यस्ता सामग्रीहरुबाट फेबिक्रेट गरिएका कपडाहरु लगाउने छन् ।
त्यसैगरी, प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । उद्घाटनको दिन बिहीबार स्वपना सुमन ब्याण्डको प्रस्तुति रहेसँगै क्रमस गायक दीपक बज्राचार्य, मिस्टर डि र्यापर, गायिका अस्मिता अधिकारी, चि मुसी चि (र्यापर तथा मुभी प्रिमियर) र र्यापर हङ र गायिका इन्दिरा जोशीको प्रस्तुती हुने आयोजकले जनाएको छ ।
annapurnapost