मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण हुने बताउनुभएकाे छ ।
विराटनगर–९ स्थित कोइराला निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले नयाँ सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत थप अन्य दल सरकारमा सहभागी हुने दाबी गर्नुभयाे।
नेता डा. कोइरालाले कांग्रेस संसदीय दलको नेता चयनबारे पार्टीभित्र सल्लाह गरेर निर्णय गर्ने बताउनुभयाे। उहाँले भन्नुभयाे, ''कांग्रेस संसदीय दलको नेता सर्वसम्मति चयन अथवा निर्वाचन के गर्ने भन्ने विषयमा पार्टी सभापति र पार्टीका साथीहरुसँग सल्लाह गरेर निर्णय गरिन्छ।''
उहाँले मुलुकको समृद्धिका लागि सुशासन कायम गर्न र भ्रष्टाचार न्यूनीकरण गर्न अत्यन्त जरुरी रहेको बताउनुभयाे। नेता कोइरालाले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न भएको र लोकतन्त्रको संरक्षणका लागि मतदाताले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएकोमा धन्यवाद समेत दिनुभयाे।