काठमाण्डौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले सुकुम्बासी समस्या समाधान गर्न तत्पर रहेको बताउनुभएकाे छ । उहाँले तीन वर्षभित्र सुकुम्बासी समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएकाे हाे।
सुकुम्बासी समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न लागिपरेका छौं। त्यसका लागि सुकुम्बासीको पहिचान गर्ने काम भइरहेको र त्यसपश्चात उनीहरूको बर्गीकरण गरिने मन्त्री चौधरीले बताउनुभयाे।
''साँच्चिकै भूमीहीन सुकुम्बासीहरूको पहिचान गर्ने काम भइरहेको छ। त्यसपछि उनीहरूको वर्गीकरण गर्ने काम हुन्छ। जो साँच्चिकै सुकुम्बासी छन्, उनीहरूका लागि अपार्टमेन्ट बनेको छ। उनीहरुलाई अपार्टमेन्टमा स्थानान्तरण गर्नेछौं। अपार्टमेन्टमा नअटे हामीले नै भाँडा तिरेर अन्यत्र राख्छौं,'' काठमाण्डौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उहाँले भन्नुभयाे।
उहाँले सुकुम्बासीका नाममा अनधिकृत घर ठडाएर भाडा असुल्नेलाई कारबाही गर्ने बताउनुभयाे। ''सुकुम्बासी बस्तीमा घर ठडाएर भाडा असुल्ने गरेको कुरा पनि हामीकहाँ आएको छ। त्यस्ता सुकुम्बासी छन् भने त्यसको पहिचान गरेर कानुनी कारबाही गर्छौं,'' मन्त्री चौधरीले भन्नुभयाे। उहाँले केही सुकुम्बासी भनिएकाहरूले चार पाँच तल्ले घर बनाएर भाँडामा लगाइएको बताउनुभयाे।