कांग्रेस उम्मेदवार प्रकाशमान सिंह काठमाण्डौं १ बाट चौथोपल्ट सांसद जित्नुभएका उहाँका लागि यो चुनाव पनि सजिलो प्रतिस्पर्धा भने रहेन ।
राप्रपाका नवप्रवेशी नेता रवीन्द्र मिश्रसँग मतगणनामा सुरुवातदेखि एक डेढ सय मतले अघिपछि भइरहेका सिंहले अन्ततः १२५ मतान्तरले विजयी हुन पाउनुभएकाे छ । सिंह ७ हजार १ सय ४३ मत ल्याएर विजयी हुँदा मिश्र ७ हजार १८ मत ल्याउनुभयाे ।
सिंह र मिश्रको यो दोस्रो प्रतिस्पर्धा हो । वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उदाएको विवेकशील साझा पार्टीबाट मिश्रले सिंहसँग २०७४ सालको चुनावमा पहिलो प्रतिस्पर्धा गर्नुभएकाे थियाे । त्यसबेला ८ सय १८ मतले मिश्रलाई सिंहले पराजित गर्नुभएकाे थियाे । यसपटक मिश्रले मतान्तर निकै घटाउनुभयाे, तर त्यो जितमा बदलिन सकेन ।
तर सिंह र मिश्र दुवैले २०७४ सालमा पाएको मत यसपालि मतदाता संख्या केही बढ्दा पनि जोगाउन सक्नुभएन् । २०७४ मा सिंहले १० हजार ३६ मत पाउँदा मिश्रले १० हजार ११८ मत ल्याउनुभएकाे थियाे । अर्थात्, २०७४ मा सिंह र मिश्रलाई भोट दिएकाहरुले यसपालि अन्यलाई भोट दिएको देखिन्छ । मिश्र राप्रपा प्रवेश गरेसँगै राप्रपा नेपाल तर्फका उम्मेदवारले एमालेलाई सघाउने निर्णय गर्दै उम्मेदवारी अन्तिम घडीमा निष्क्रिय पारे । यस्ता तथ्यहरु पनि मिश्रलाई निर्णायक पराजय हुनु पर्याे ।
यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार १ सय १५ र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १ सय २४ मत पाउनुभएकाे छ । यो नयाँ अनुहार खोज्ने मतदाताको मत हो । तर मिश्रले आफैंले मार्ग परिवर्तन गरेको असर चुनावी परिणममा भोग्नुभएकाे छ । किनभने, विगतमा वैकल्पिक शक्ति भनेर उदाएको विवेकशील साझा पार्टीमा उज्वल थापा, रवीन्द्र मिश्रसँगै पुकार बम पनि हुनुहुन्याे ।
मिश्रले मार्ग परिवर्तन गरेर राप्रपा रोज्नुभयाे । मिश्रले वैकल्पिक शक्तिको पक्षमा रहेकाहरु विभाजित हुन नहुने भन्दै मत नबाँडियोस् भनी अपील गर्नुभएकाे थियाे । तर मिश्रको अपीलले काम गरेन । बरु पुरानो दल र आफ्नै विकल्प खोज्ने मतदाताहरु विभाजित हुँदाको प्रत्यक्ष फाइदा सिंहले उठाउनुभएकाे छ ।
काठमाण्डौं - १ का स्थानीय नेताहरु मिश्रले मार्ग परिवर्तनको सजाय पाएको टिप्पणी गर्नुहुन्छ । वैकल्पिक शक्ति निर्माणको अभियान छाडेर मिश्र यसपालि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरी हलो चिह्न लिएर उठ्नुभएकाे हाे । ‘विचारभन्दा माथि देश’ भन्दै मार्ग परिवर्तन गर्नुभएका मिश्र नयाँ अनुहार खोज्ने मतदाताको प्रतिस्पर्धामा विगतमा आफैंले पाएको मत जोगाउन नसकेर पुनः पराजित हुन पुग्नुभएकाे हाे ।
साझा विवेकशील पार्टी नछाडेर सोही पार्टीबाटै चुनाव लडेको भए यसपालि बम उम्मेदवार नहुने र सहजै जित हासिल गर्न सक्ने कतिपयको विश्लेषण छ । विवेकशील साझा छाडिसकेको अवस्थामा स्वतन्त्र उठेका भए मिश्रले जित्न हात पार्न सक्ने मत विश्लेषण राप्रपाको विचार र सिद्धान्तलाई ख्याल गर्ने मतदाताहरुको मत मिश्रले नपाएको तर्क गर्नेहरुको छ । तथापि, पुकार बमलाई रोक्न मिश्र आफैं राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उठेको भए सजिलो गरी विजयी हुने उनीहरुको मत विश्लेषण छ ।
सबै अनुमानलाई माथ खुवाउँदै ६७ वर्षीय प्रकाशमान निर्वाचित हुनुभएकाे छ । उहाँलाई काठमान्डौंको मुटुमै नयाँ पार्टी र नयाँ अनुहारको हुरीले हल्लाउन सकेन । अर्थात्, वैकल्पिक राजनीतिको बहसले नतिजामै काठमाण्डौंको मुटुलाई असर पारेन । काठमाण्डौं महानगरपालिकाका चारवटा वडा १०, ११, २९ र ३१ मिलेर बनेको यो निर्वाचन क्षेत्र भौगोलिक हिसाबले सानो र शिक्षा, यातायात, सञ्चारको हिसाबले सुगम छ । नयाँ बानेश्वर, मीनभवन, शान्तिनगर, भीमसेनगोला, मध्यबानेश्वर, त्रिपुरेश्वर, थापाथली, पुतलीसडक, बबरमहल, अनामनगर, बिजुलीबजार, बुद्धनगर यही निर्वाचन क्षेत्रमा पर्छन् ।
यो सुगम र काठमाण्डौंको मुटुबाट चौथो पटक सांसद बन्ने सौभाग्य पाएका प्रकाशमानको प्रभाव यस क्षेत्रमा २०३४ सालदेखिकै छ । नयाँ पार्टी र नयाँ अनुहारको बहसलाई छेड्दै विजयी प्रकाशमान पारिवारिक वातावरणले राजनीतिमा उदाएका नेता हुनुहुन्छ । उहाँ २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहका छोरा हुनुहुन्छ । यही कारण कतिपयले प्रकाशमानलाई आफ्नो बुबाको योगदानको फाइदा लिन खोज्ने नेताको रुपमा समेत टिप्पणी गर्ने गर्छन् ।