नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको रामवरण यादव आरोप • Nepal's Trusted Digital Newspaperनागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको रामवरण यादव आरोप • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको रामवरण यादव आरोप

नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको रामवरण यादव आरोप

  • समाचारपाटी
  • बिहिबार, अशोज ६, २०७९
नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको रामवरण यादव आरोप

पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाउनुभएको छ ।

राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले सो विधेयक प्रमाणिकरण नगरेर संविधानको उल्लंघन गरेको पूर्वराष्ट्रपति यादवको भनाई थियो । बुधवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधि सभा विघटन गरेर पहिलो चोटी संविधान उल्लंघन गर्नुभएकी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणिकरण नगरेर फेरि संविधान उल्लंघन गरेको भन्दै आपत्ति जनाउनु भयो । दोस्रो पटक पनि संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको सो विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणिकरण हुनबाट रोक्न मिल्ने अवस्था नै नरहेको पूर्व राष्ट्रपति यादवले पटकपटक दोहोर्याउनु भयो । उहाँले बेलायत, भारत, अमेरिका लगायतका लोकतान्त्रिक मुलुकहरुको परम्परा र संविधानविद् तथा कानूनविद्हरुसँग परामर्श गरेर सो विधेयकलाई प्रमाणिकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । पूर्वराष्ट्रपति यादवले राष्ट्रपतिले सो विधेयक प्रमाणिकरण नगरेर नेपालको लोकतन्त्रमै कालो बादल मडारिएको उल्लेख गर्दै संविधानलाई बचाउन नेपाली जनतालाई सजग भएर लाग्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज गणतान्त्रिक कालमा प्रधानमन्त्रीबाट २÷२ चोटी सदन भंग भयो । र, त्यसलाई हटाउन दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवि, यही मिडिया र सम्पूर्ण नेपाली जनताको प्रयासले संविधान ट्रयाकमा ल्याउने काम भएको थियो । आज दुई वटै सदनबाट पास भएर विधेयक गएको थियो । त्यसलाई सम्माननीय राष्ट्रपतिजीले त्यो संस्थाको मर्यादा, त्यो संस्थाको गरिमा, त्यो संस्थाको कर्तव्य बुझेर उहाँले काम गर्नुपर्ने थियो । तर, आज उहाँले संविधानको उलंघन फेरि गर्नुभएको छ । संविधान फेरि एकचोटी उल्लंघन भएको छ । अब त्यसो हुन नदिन नेपाली जनता सजग हुनुपर्दछ । त्यसले गर्दाखेरी म भन्न चाहन्छु । धेरै भन्न चाहन्न कि संविधान फेरि उलंघन भएको छ । २÷२ चोटी लोअर हाउस र अपर हाउसबाट पास भएर सम्माननीय राष्ट्रपतिबाट पहिलो चोटी सन्देशसहित फर्काउने काम भयो । तर, दोस्रो चोटी फर्काउन मिल्ने अवस्था नै थिएन । उहाँले बेलायतको परम्परा हेर्नुपर्ने, भारतको परम्परा हेर्नुपर्ने, अमेरिकाको परम्परा हेर्नुपर्ने, विद्वान संविधानविद्, कानूनविद्हरुसँग छलफल गर्नुपर्ने र त्यस अनुसार मनन गरेर त्यो विधेयक प्रमाणिकरण गर्नुपर्ने थियो । तर, आज फेरि नेपालको लोकतन्त्रमा एउटा कालो बादल मडारिएको छ । म सम्पूर्ण नेपाली जनतालाई भन्न चाहन्छु–यो संविधानलाई बचाएर लैजानुपर्दछ । यसो गर्न सकिएन भने हामी फेरि प्रतिगमनमा जान्छौं ।’

पूर्वराष्ट्रपति यादवले केपी ओली नेतृत्वको सरकारले संविधान विपरित प्रतिनिधिसभा भंग गर्दा दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवि, सञ्चार क्षेत्र र आम नेपाली जनताले बचाएको उल्लेख गर्दै नेपाली जनताले फेरि पनि संविधान बचाउन पहल गर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रपति भण्डारीको यो कदम पनि नसच्चिए फेरि मुलुकमा प्रतिगमन हुने बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका