विद्युतीय सफा टेम्पु: बिक्रम टेम्पुलाई विस्थापित गर्न संचालनमा आएका सफा टेम्पु किन थप दर्ता हुन सकेनन् ? • Nepal's Trusted Digital Newspaperविद्युतीय सफा टेम्पु: बिक्रम टेम्पुलाई विस्थापित गर्न संचालनमा आएका सफा टेम्पु किन थप दर्ता हुन सकेनन् ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विद्युतीय सफा टेम्पु: बिक्रम टेम्पुलाई विस्थापित गर्न संचालनमा आएका सफा टेम्पु किन थप दर्ता हुन सकेनन् ?

विद्युतीय सफा टेम्पु: बिक्रम टेम्पुलाई विस्थापित गर्न संचालनमा आएका सफा टेम्पु किन थप दर्ता हुन सकेनन् ?

काठमाडौँका बाटोमा गुड्दै आएका करिब चार सय बिक्रम टेम्पु विस्थापित गर्ने उद्देश्यले सन् १९९३ मा ब्याट्रीद्वारा सञ्चालन हुने तिन पाङ्ग्रे सफा टेम्पुको प्रथम संस्करण (प्रोटोटाइप)को विकास भयो ।

  • अनु पौडेल
  • शनिबार, भदौ २५, २०७९
विद्युतीय सफा टेम्पु: बिक्रम टेम्पुलाई  विस्थापित गर्न संचालनमा आएका सफा टेम्पु किन थप दर्ता हुन सकेनन् ?

नेपालमा स्वदेशी रुपमा विकास भएको प्रविधि हो ‘विद्युतीय सफा टेम्पु’ । देशले नै गौरव गर्न सक्ने एउटा प्रविधिको उदाहरणको रुपमा रहेकाे सफा टेम्पुलाई विजुली टेम्पु वा ब्याट्री टेम्पुको नामले पनि चिनिन्छ ।

काठमाडौँ उपत्यकामा छोटो दुरीमा धेरैको गन्तब्य हुने भएकोले सफा टेम्पुमा यात्रा गर्नका लागि निकै उपयुक्त हुने गर्दछ । राजधानीका साँघुरा गल्लीहरुमा सहजै गुड्दै आएका यस्ता विद्युतीय सफा टेम्पुमा कम खर्च र समय भित्रै यात्रा गर्न सकिन्छ । यसका साथै वातावरणमैत्री, आवाज नआउने लगायतका विविध कुराले पनि अधिकांश उपत्यकाबासीले सफा टेम्पुमै यात्रा गर्न रुचाउने गरेकाछन् ।

zvgbenbi e1662785509296यसरी भयो सफा टेम्पुको सुरुवात
वातावरण प्रदुषण नियन्त्रण गर्ने उद्देश्यका साथ आएको सफा टेम्पुको सञ्चालन राजधानीको बाटोमा वि.स. २०५२ साल साउन महिनाबाट भयो । वि.स २०५४ सालमा वायु प्रदुषणको दृष्टिकोणबाट विश्वमा मेक्सिको सिटी पछि काठमाडौं उपत्यका दोस्रो प्रदुषित शहरमा स्थापित हुन पुगेको थियो । दिन प्रतिदिन बढ्दो वायु प्रदुषणले गर्दा काठमाडौँ उपत्यकाभित्र वातावरणीय तथा मानवीय स्वास्थ्यमा समेत अनेकौँ समस्याहरू उत्पन्न हुन थालेका थिए भने यसले पर्यटन क्षेत्रमा समेत ठूलो क्षति हुन थालेको थियो ।

काठमाडौंको वायु प्रदूषणमा मुख्य भूमिका निर्वाह गर्ने साधनहरु मध्ये उक्त समय उपत्यका भित्र सञ्चालित करिब १५ सय थान डिजल तथा २५ सय थान पेट्रोलयुक्त टेम्पुहरु थिए । यस किसिमका सवारीसाधनहरू दैनिक १० देखि १५ घण्टासम्म सञ्चालन हुने भएकाले काठमाडौमा हुने प्रदूषणको २५ प्रतिशत यस किसिमका सवारीहरू बाट हुन पुगेको थियो ।
पछि, काठमाडौँका बाटोमा गुड्दै आएका करिब चार सय बिक्रम टेम्पु विस्थापित गर्ने उद्देश्यले सन् १९९३ मा ब्याट्रीद्वारा सञ्चालन हुने तिन पाङ्ग्रे सफा टेम्पुको प्रथम संस्करण (प्रोटोटाइप)को विकास भयो । उक्त प्रोटोटाइप युएसएडको आर्थिक सहयोगमा ग्लोबल रिसोर्स इन्स्टिच्युट नामक अमेरिकी एजेन्सीले नेपालको राजधानी काठमाडौँ स्थित रहेको थापाथली इन्जिन्यरिंग क्याम्पसमा विकास गरेको थियो ।

त्यस समय विस्थापन गर्न लागिएको बिक्रम टेम्पुका प्राविधिक टोली, हालका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेल गरि ३ नेपाली र २ अमेरिकी सहित ५ जनाको टोलीले प्रोटोटाईपको निर्माण गर्यो । एजेन्सीले सातवटा विक्रम टेम्पु खरिद गरी डिजेल इन्जिनको ठाउँमा इलेक्ट्रिक मोटर जडान गरी ब्याट्रीको मद्दतबाट सञ्चालन हुने सफा टेम्पुको निर्माण गरेको थियो । पछि सफा टेम्पुलाई पहिलो पटक राजधानीको बाटोमा परीक्षणका रुपमा सञ्चालन गरियो । छ महिनासम्म भएको उक्त परिक्षण सफल भएपछि सात वटा सफा टेम्पुको प्रोटोटाइपको फ्लीट नेपालमा विजयमान शेरचनको अध्यक्षतामा संचालन भइरहेको ‘नेपाल इलेक्ट्रिक भेहिकल इन्डस्ट्री (नेभी)’ नामक निजी कम्पनीले प्रथम पटक खरिद गर्यो ।

खरिद भएका सफा टेम्पुको डिजाइनमा केही थप सुधार गर्दै कम्पनीले बालुवाटार देखि मङ्गलबजारसम्मको रुटमा व्यवसायिक रुपमा नै सञ्चालन गर्न थाल्यो । केही समय पछि आठ ओटा सफा टेम्पु थप गरेको कम्पनीले विभिन्न रुटमा सेवा दिँदै आएको थियो ।

२०५८ साल असोज मसान्त सम्म आइपुग्दा काठमाडौंमा करिब ६५० वटा सफा टेम्पुहरु सञ्चालनमा आउन थालेका थिए । त्यस्तै, पछिल्लो समयसम्म आइपुग्दा तिन पाङ्ग्रे विद्युतीय सवारीको चार वटा उत्पादन उद्योग, ७१४ वटा सफा टेम्पु र २४ ओटा बढि मर्मत तथा चार्जिङ स्टेसन काठमाडौँ र ललितपुर भित्र दर्ता भएको नेपाल सफा परिवहन संघका अध्यक्ष फुम प्रसाद पोख्रेल बताउँछन् ।

विद्युतीय सफा टेम्पु विकासका लागि सरकार र दातृ निकायको भूमिका
श्री ५ को सरकारद्वारा विद्युतीय तिन पाङ्ग्रे सफा टेम्पुको प्रवर्द्धन र विकासकालागि केही कदम अपनाइएको छ । जसमा २०५२/५३ को आर्थिक अध्यादेश अन्तर्गत विद्युतीय सवारी साधनहरु नेपालमा एसेम्बल गर्नका लागि आयात हुने पार्टपुर्जाकालागि पाँच प्रतिशत मात्र भन्सार महसुल तिर्नुपर्ने निर्धारण भएको थियो । यो सँगै नेपाल आयात हुने पूर्ण विद्युतीय सवारीहरुमा १० प्रतिशत भन्सार महशुल तोकिएको थियो भने बिक्री कर पूर्ण रुपमा छुट गरिएको थियो । सफा टेम्पुको बाहिरी भाग नेपालमा नै बनाउन सकिने तर चेसिस, मोटर र ब्याट्री बाहिरबाट आयात गर्नु पर्ने भएकाले महँगो पर्नेमा व्यवसायीहरू गुनासो गर्दै आएका थिए ।

त्यसैमा, सरकारले आर्थिक वर्ष २०५३/५४ मा विद्युतीय सवारी साधनको पार्टपुर्जा आयातमा एक प्रतिशत मात्र भन्सार महसुल लगाउने निर्णय गर्दै बिक्री कर छुट दिएर यस किसिमको सवारी प्रवर्द्धन र उत्पादन गर्न प्रोत्साहन गरेको थियो । सोही समयमा सफा टेम्पुका कारण भएका विविध राम्रा पक्षलाई मध्यनजर गर्दै डेनमार्क सरकारले श्री ५ को सरकारलाई डिजेलयुक्त बिक्रम टेम्पुलाई विद्युतीय सफा टेम्पुमा रूपान्तरण गर्नकालागि न्यून ब्याजदरमा ऋण सहयोग उपलब्ध गराउने योजना ल्यायो ।

डेनमार्क सरकारले नेपाल भ्रमण वर्ष १९९८ लाई मध्यनजर राख्दै दुई करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक सहायता उपलब्ध गराएको थियो । उक्त सम्झौतामा नेपालका लागि डेनमार्कका कार्यावाहक राजदूत लार्स हर्मन र नेपालको तर्फबाट अर्थमन्त्रालयका तत्कालिन सहसचिव माधवप्रसाद घिमिरेले एक समारोहका बीच हस्ताक्षर समेत गरेका थिए । तर कुनैपनि बिक्रम टेम्पुले सो कार्यक्रममा सहभागी हुने इच्छा नदेखाएकाले त्यो कार्यक्रमको योजनाले त्यही बिट मार्यो । केही समय पछि, उक्त कार्यक्रमका लागि छुट्याइएको रकमले भने चार्जिङ स्टेसनहरुको स्थापना भयो भने केही व्यक्तिलाई नयाँ सफा टेम्पु खरिद गर्नकालागि न्यून ब्याजदरमा ऋण उपलब्ध गराइएको थियो ।

सुरुवातको समयमा सफा टेम्पुको प्रोटोटाइपको विकास गर्नका साथै चालकहरुलाई यस किसिमका सवारी सञ्चालन गर्न तालिम प्रदानसँगै दक्ष जनशक्ति उत्पादन गर्नका लागि यस किसिमका दातृ निकायको सहयोगहरुले सफा टेम्पुको प्रवर्द्धनमा उल्लेख्य राहत मिलेको देखिन्छ । नेपालमा सफा टेम्पुको प्रवर्द्धन गर्नका लागि नेपाल सरकारसँगै यूएनडीपी, मार्टिन चौतारी, विनरक इन्टरनेशनल नेपाल, नेपाल विद्युतीय परिवाहन संघ, क्लीन इनर्जी नेपाल, क्लिन एयर नेटवर्क नेपाल, नेपाल वातावरण पत्रकार फोरमजस्ता धेरै स्थानीय र गैरसरकारी अन्तर्राष्ट्रिय संस्थाहरूले वकालत अभियानहरूमा र यसको विकासमा उल्लेखनीय योगदान पुर्याएको छ ।

त्यस्तै, पछिल्लो समय सरकारले नेपालमै विद्युतीय रिक्सा, विद्युतीय मोटरसाइकल वा विद्युतीय स्कुटर उत्पादन गर्ने उद्योगलाई विशेष छुट दिने निर्णय गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका थिए । उनका अनुसार यस्ता उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ वा पाटपुर्जामा एक प्रतिशतमात्र भन्सार महसुल लाग्ने व्यवस्था भएको छ ।

SM 1सफा टेम्पुको हालको अवस्था
पछिल्लो समय काठमाडौँ उपत्यकामा दर्ता भएका ७१४ वटा सफा टेम्पु मध्ये ६७० वटा मात्र सञ्चालन हुँदै आएका छन् । विविध कारणले सञ्चालन हुन नसकेका ४४ वटा सफा टेम्पु हाल बिभिन्न मर्मत केन्द्र तथा कुनै पार्किङ स्थलमा जिर्ण अवस्थामा भेटिने गरेका छन् ।

पछिल्लो पटक सुन्धारा देखि कालिमाटी हुँदै सितापाइला सम्म जाने ५५ वटा सफा टेम्पुले सेवा दिँदै आएका छन् । यो रुटमा चल्ने ५५ सफा टेम्पु मध्ये करिव २५ जना महिला संचालक स्वरोजगार रहेका छन् । सुन्धारा देखि जमल, मैतीदेवी हुँदै कपनसम्म जाने १३५, सुन्धारा देखि अनामनगर,नयाँबानेश्वर हुँदै कोटेश्वर ओम शान्तिचोक सम्म ३४, सुन्धारा देखि पुरानो बानेश्वर हुँदै सिनामङ्गल जाने ४३, संखमुल देखि जोरपाटी सम्म १०३, ललितपुर देखी घुम्ती रुटमा सञ्चालन हुने १७५, सुन्धारा देखि मंगलबजार हुँदै इमाडोल ४५ वटा र सुन्धारा देखि महाराजगंज हुँदै गल्फुटार सम्म जाने २० वटा गरि सफा टेम्पुहरु काठमाडौँ र ललितपुरका विभिन्न आठ रुटमा गुड्दै आएका छन् ।

लामो समय देखि सफा टेम्पु सञ्चालन गर्दै आएका महिलाहरूको पनि उल्लेख्य सहभागिता देखिन्छ । सफा टेम्पु चलाएर नै घर खर्च, शिक्षा तथा स्वास्थ्यको खर्च समेत जुटाउदै आएकाको संख्या ठुलो छ । यो क्षेत्रले विभीन्न अवसरको सिर्जना समेत गरिदिएको छ भने अझै पनि पर्याप्त चर्जिंग स्टेसन, पार्किंग स्थान, यात्रु चडाउने वा ओराल्ने लगायतका पूर्वाधारको निर्माण आवश्यक अनुरुप नभएकाले चालकहरुले कठिनाई भोग्दै आउनु परेको छ ।

सफा टेम्पुले भोग्दै आएका समस्या र विकास नहुनाको कारण

काठमाडौंको भौगोलिक अवस्थालाई मध्यनजर गरि धेरै प्रदुषण गर्दै आएको विक्रम टेम्पुलाई प्रतिस्थापन गर्न सञ्चालनमा आएको सफा टेम्पु उद्योगले समयसँगै उल्लेखनीय गति प्राप्त गर्दै गएको थियो । सोही समय २०५५ सालमा वातावरण मन्त्री रहेका ओमकार श्रेष्ठले सरकारले प्रतिस्थापन गरेका बिक्रम टेम्पुलाई १०-१२ सिटका डिजेल पेट्रोलयुक्त सवारी दिने सोचाइमा रहेको सार्वजनिक अभिव्यक्ति दिए ।

यसै परिप्रेक्ष्यमा रहेर अर्थमन्त्री महेश आचार्यले आर्थिक वर्ष २०५६/५७ को बजेट पेस गर्नेक्रममा बिक्रम टेम्पुको सट्टामा इन्धनयुक्त माइक्रोबस नेपाल ल्याउन दिने घोषणा गरे । सरकारले उक्त घोषणा गरेसँगै माइक्रोबस नेपाल ल्याउन भने केही समय लागेको थियो । सोही अवसरमा सफा टेम्पु तथा ग्यासयुक्त टेम्पुको खरिद गर्ने र संचालनमा ल्याउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भयो ।

सफा टेम्पुको सुरुवात विक्रम टेम्पुको विकल्पमा भएकाले सफा टेम्पुको सुरुवाती दिन देखिनै विक्रम टेम्पुले सञ्चालनमा बाधा पुर्याउँदै आएको पाइन्छ । यसका साथै सफा टेम्पुको विरुद्धमा सुरुवात देखि नै यातायात व्यवसायी महासङ्घ पनि जुटेर लागिपरेको थियो ।

बिक्रम टेम्पु एकाइ समितिका अध्यक्ष तिल प्रसाद जोशीले सफा टेम्पुमा प्रयोग हुने ब्याट्रीको ‘लिड एसिड’ले वातावरण प्रदुषण सँगै ७५ फिट जमिनमुनिको पानीलाई समेत प्रदुषण गर्ने प्रमाणका आधारमा उक्त टेम्पुको सञ्चालनमा प्रतिबन्धको माग दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । त्यसैमा सर्वोच्च अदालतले कारण देखाउ आदेश समेत जारी गरेको थियो ।

केही समयको अन्तरालमा सरकारले यस किसिमका सवारीको सञ्चालन गर्न नयाँ दर्ता प्रतिबन्ध लगायो । २०५७ सालमा काठमाडौँ उपत्यकाभित्र सफा टेम्पु नयाँ दर्ता तथा सञ्चालनमा प्रतिबन्ध लगाउने कार्य पहिलोपटक यातायात व्यवस्था विभागले गोरखापत्रमा सूचना प्रकाशित गरी गरेको थियो । विभागले पहिलोपटक दर्ता बन्द गर्दा चौतर्फी दबाब आएपछि आफ्नो निर्णय फिर्ता गरेको थियो ।

तर त्यसको केही समयपछि पुनः लगाएको दर्ता प्रतिबन्ध असोज २०५८ सालसम्म कायम रहेको थियो । दर्ता प्रक्रिया बन्द हुँदा टेम्पु उत्पादनमा लागेका, चार्जिङ स्टेसन उद्योगमा लागेका स्वदेशी उद्यमीहरूले धेरै घाटा नोक्सानी ब्यहोर्नु पर्यो ।

यसैगरी, सोहि समय लोडसेडिङको समस्या बढेका कारण सफा टेम्पु स्थिर भएर सञ्चालन हुन सकेन । सोही समयमा सरकारले सफा टेम्पु व्यवसायीहरूका लागि गरेका निर्णयहरू पनि सन्तोषजनक थिएन । किनकि विद्युतीय क्षेत्रलाई कर प्रोत्साहन सम्बन्धी गर्ने निर्णयहरू पटकपटक परिवर्तन हुने गरेको कारण व्यवसायीहरू थप मारमा परेका थिए । उदाहरणमा सरकारले ब्याट्री आयात गर्दा हुने भन्सार सहुलियत सन् २००८ मा खारेज गर्यो । यो निर्णयले नेपालमा ब्याट्री आयात पूर्णरुपमा रोकिएको थियो । त्यसको केही समय पछि उमेशराज श्रेष्ठको अध्यक्षतामा रहेको इलेक्ट्रिक भेइकल एसोसिएसन नेपाल (इभान) सँगको समन्वयमा सरकारले उक्त निर्णय सच्याएको थियो ।

वातावरणमैत्री सवारी तथा यातायात नीति २०७१ मा विद्युतीय सवारीलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गरिएको थियो । सोही नीति कार्यान्वयन गर्ने सन्दर्भमा यस किसिमका सवारीलाई रुट दिनका लागि काठमाडौं उपत्यकाको अवस्था, सवारी संख्या, यात्रुको चाप अध्ययन गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रतिवेदन पेस गर्न समितिको निर्माण गरिएको थियो । तर सरकारले सोही वर्ष विद्युतीय तिन पाङ्ग्रे सफा टेम्पुको नयाँ दर्ता प्रक्रिया स्थगित गरेको थियो । आजको अवधिमा आइपुग्दा सरकारले विद्युतीय सवारीको प्रवर्द्धन गर्न भन्दै विभिन्न योजना ल्याएपनि तिन पाङ्ग्रे सफा टेम्पु दर्ता पुनः सुचारु भने गरेको छैन ।

सफा टेम्पुले भोग्दै आएका समस्या यति मात्रै थिएनन्, आयात गरिएका ब्याट्री गुणस्तरहीन भएका कारण त्यसको मर्मत गर्न लाग्ने खर्च बढी हुने गरेको थियो । एकातिर ब्याट्री मर्मतमा बढी खर्च लाग्ने त अर्कोतिर आयात भएका ब्याट्री गुणस्तरहीन भएसँगै आयु पनि छोटो समयमै घट्ने भएका कारण सञ्चालनमा आएका सफा टेम्पुहरु बिस्तारै हराउन (grounded) थाले ।
ग्राउण्डेड हुने सफा टेम्पुको आफ्नै समस्या त छ नै तर बिस्तारै बिस्तारै केही तालिमप्राप्त चालक र प्राविधिकहरू पनि पर्याप्त सेवा सुबिधा नभएका कारण विदेश पलायन हुनेको जमात ठूलो छ । विद्युतीय सवारीको क्षेत्रमा दक्ष जनशक्ति अभाव हुन थालेको र पर्याप्त तालिमको व्यवस्था पनि नभएका कारण यो उद्योगले समयसमयमा घाटा बेहोर्दै आउनुपरेको छ ।

के भन्छन् त सरोकारवालाहरू ?

पर्याप्त पार्किङ क्षेत्र नहुँदा विभिन्न ठाउँमा ट्राफिकले दुख दिने गरेको चालकहरूको गुनासो छ । उनीहरूले यात्रु ओराल्ने र चढाउने ठाउँमा ट्राफिकले चिट काट्ने गरेको र पार्किङ गर्न नदिने भएकाले त्यसको व्यवस्थापनमा विशेष ध्यान दिन पर्ने माग गरेका छन् । उनीहरूले उपत्यकामा विद्युतीय सवारीसाधनको विकासका लागि उपत्यकाको भूबनोटको आधारमा राजधानी भित्र रहेका धार्मिक स्थल, मठ मन्दिर, पर्यटन क्षेत्र, गुम्बा क्षेत्रहरूमा समेत सफा टेम्पु सञ्चालन गर्नका लागि महानगरपालिकाले व्यवस्था गरि दिनुपर्ने बताउँछन् ।

नेपालमा सफा टेम्पु विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाल इलेक्ट्रिक भेहिकल इन्डस्ट्री प्रालि (नेभी)का अध्यक्ष विजयमान शेरचनले वातावरणमैत्री सवारी साधनको वर्गीकरण गरि मापदण्ड परीक्षण संयन्त्र निर्माण गर्नुपर्ने बताए । उनले विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्न सरकारको नीति स्वागतयोग्य भएको तर सरकारले आफूले तय गरेको नीतिमा स्थिर नभएकोले व्यवसायी निरुत्साहित हुन सक्ने सम्भावना रहेको बताए ।

विद्युतीय सफा टेम्पु वातावरणको हिसाबले पनि हानिकारक नभएको बताउँदै काठमाण्डौको भूबनोटका लागि उपयुक्त हुने भएकाले यस किसिमका सवारीको उत्पादन गर्न सरकारको स्थिर निर्णय बनिरहे व्यवसायीलाई प्रोत्साहन मिल्ने र यो क्षेत्रको विकास दीर्घकालीन हुने उनको विश्वास छ ।

नेपाल सफा परिवहन संघका अध्यक्ष फुम प्रसाद पोख्रेलले सफा टेम्पुको विकास गर्नका लागि सरकारले तिन पाङ्ग्रे सफा टेम्पुको नयाँ दर्ता खुल्ला गरि काठमाडौँको बाटोमा एक हजार सफा टेम्पु सञ्चालनमा ल्याउन पर्ने बताए । उनले त्यसकालागि चालक, दक्ष जनशक्ति उत्पादन गर्न अत्यावश्यक रहेको भन्दै यसका लागि महानगरपालिकाले संयन्त्रको भूमिका निर्वाह गर्नु पर्ने बताए ।

नेपाल विद्युतीय परिवहन संघका अध्यक्ष उमेशराज श्रेष्ठले नेपाल सरकारले स्वदेशमै विद्युतीय सवारी उत्पादन गर्न आवश्यक पर्ने सामग्रीको आयातमा थप सहुलियत दिनु पर्ने बताए ।
उनी भन्छन्, ‘सफा टेम्पुको उत्पादन गर्न हामीसँग २० वर्ष बढीको अनुभव रहेको छ । यसमा केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय निकायले स्वदेशी उत्पादन कम्पनीलाई फस्टाउन दिनका लागि पनि अन्य भन्दा थप सहुलियत दिनु पर्ने देखिन्छ ।’ उनले उत्पादन गरिएका गाडीको नयाँ दर्ता प्रक्रिया सरल, सहज बनाउनुपर्ने सँगै नयाँ रुट पर्मिटको उपयुक्त व्यवस्था गरे विद्युतीय सवारीको उत्पादन गर्न सहज हुने बताए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका