‘अब हामी शान्ति र स्थिरताको युगमा प्रवेश गरेका छौं':-पुष्पकमल दाहाल • Nepal's Trusted Digital Newspaper‘अब हामी शान्ति र स्थिरताको युगमा प्रवेश गरेका छौं':-पुष्पकमल दाहाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘अब हामी शान्ति र स्थिरताको युगमा प्रवेश गरेका छौं’:-पुष्पकमल दाहाल

‘अब हामी शान्ति र स्थिरताको युगमा प्रवेश गरेका छौं’:-पुष्पकमल दाहाल

  • समाचारपाटी
  • शुक्रबार, भदौ २४, २०७९
‘अब हामी शान्ति र स्थिरताको युगमा प्रवेश गरेका छौं’:-पुष्पकमल दाहाल

नेकपा माओवादी केन्द्र का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने आशय व्यक्त गर्नुभएको छ ।

बिहीवार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले अहिले देश विकासको लागि वातावरण तयार भएको उल्लेख गर्दै आगामी निर्वाचनपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताउनु भयो । अध्यक्ष दाहालले राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन आर्थिक समृद्धिमा समर्पण गर्ने स्पष्ट पार्नुभयो । उहाँले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि आफनो नेतृत्वमा पुनः देशलाई आर्थिक विकासको गति दिन ऐन कानूनमा आवश्यक सुधार र संशोधन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले राजनीतिक पार्टी र अन्य देशहरुसँगको सहकार्यलाई नयाँ उचाईमा पुर्याउने दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘अब हामी शान्ति र स्थिरताको युगमा प्रवेश गरेका छौं । अब देश विकासको निम्ति वातावरण तयार भएको छ । अहिले नेपालमा जुन परिवर्तन आएको छ । राजनीतिक नेतृत्वको हैसियतले मैले केही समय अगाडि संविधान सभाबाट संविधान घोषणा भएपछिको निर्वाचन अगाडि नेपाली जनता र अन्तर्राष्ट्रिय मित्रहरुकोसामु पनि राजनितिक परिवर्तन र स्थिरताको निम्ति धेरै मेहनत गर्यौं । अब बाँकी आर्थिक समृद्धिको लागि हाम्रो ध्यान केन्द्रित हुनेछ भनेर केही प्रयोग गर्न खोजियो । त्यो प्रयोग गरियो र सफल भएन । अब हामी दोस्रो लोकतान्त्रिक निर्वाचनलाई सम्पन्न गर्ने प्रक्रियामा छौं । मलाई विश्वास छ । मैले त्यतिबेला जे प्रतिवद्धता गरेको थिएँ । अब मेरो हैसियतमा राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन अब आर्थिक विकास, आर्थिक समृद्धिको लागि र सामाजिक न्याय र समान्ताका निम्ति समर्पित गर्ने प्रतिवद्धता जनाएको थिएँ । अब चाहन्छु आगामी निर्वाचनपछि फेरि एकपटक देशलाई आर्थिक विकासमा गति दिनको निम्ति ऐन कानूनमा आवश्यक सुधार र संशोधनसहित राजनीतिक पार्टीहरु र अन्तर्राष्ट्रिय मित्रहरु बीचको सहकार्यलाई नयाँ उचाईमा उठाइनेछ । यसमा परिसंघका पदाधिकारीहरुले खेलेको भुमिका धेरै महत्वपूर्ण छ ।’

अध्यक्ष दाहालले वर्तमान अवस्थामा निजी क्षेत्रको सहभागिता र विश्वास नलिकन देशले आर्थिक विकास र समृद्धिको यात्रालाई गति दिन नसक्ने बताउनु भयो । उहाँले संविधान सभाबाट संविधान निर्माण गर्दा नै निजी क्षेत्रलाई महत्व दिएको दाबी गर्नुभयो । उहाँले संविधान निर्माणपछि हरेक राजनीतिक दलको घोषणामा निजी साझेदारी अवधारणा अघि सारिएको पनि बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘निजी क्षेत्रको सहभागिता र विश्वास नलिई आजको ग्लोवलाइजेशन र डिजिटलाइजेशनको युगमा कुनैपनि देशले आर्थिक विकास समृद्धिलाई गतिशिल रुपमा अगाडि बढाउन सम्भव छैन । प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर भौतिक पूर्वाधारको विकास रोजगारी सिर्जना गर्नेदेखि समग्र राष्ट्रिय अर्थतन्त्रको विकासमा जोड गरेको हो त ? भन्ने प्रश्न आउने गरेका थिए । तर संविधान बनाउँदा नै निजी क्षेत्रलाई महत्व दिएर संविधान निर्माण गर्ने कुरा गर्यौं । त्यसपछि सबै राजनीतिक घोषणाहरुमा निजी साझोदारी मोडललाई महत्वका साथ काम अगाडि बढाउने काम भएका छन । अब सरकार र निजी क्षेत्रको बीचको सम्बन्ध दिनप्रतिदिन सुमधुर हुँदै गएको छ । सहकार्यको क्षेत्र पनि बिस्तारै सुदृढ हुँदै गएको मैले महशुस गरेको छु ।’

अध्यक्ष दाहालले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दिनप्रतिदिन सुमधुर बन्दै गएको उल्लेख गर्दै सहकार्यमा निजी क्षेत्रसँगको सम्बन्ध सुदृढ भइरहेको बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका