'गतसाल देखापरेको संविधान मिचिने खतरा यो निर्वाचन भएपछि नेपालबाट करिव टरेर जान्छ':-दाहाल • Nepal's Trusted Digital Newspaper'गतसाल देखापरेको संविधान मिचिने खतरा यो निर्वाचन भएपछि नेपालबाट करिव टरेर जान्छ':-दाहाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘गतसाल देखापरेको संविधान मिचिने खतरा यो निर्वाचन भएपछि नेपालबाट करिव टरेर जान्छ’:-दाहाल

‘गतसाल देखापरेको संविधान मिचिने खतरा यो निर्वाचन भएपछि नेपालबाट करिव टरेर जान्छ’:-दाहाल

  • समाचारपाटी
  • बुधबार, भदौ २२, २०७९
‘गतसाल देखापरेको संविधान मिचिने खतरा यो निर्वाचन भएपछि नेपालबाट करिव टरेर जान्छ’:-दाहाल

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले संसदको आयु लम्ब्याउनेतर्फ जान नहुने बताउनुभएको छ ।

मंगलवार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुले राखेको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले संसदको आयु लम्ब्याउने कुरा आजै संसदबाट फिर्ता हुने बताउनु भयो । उहाँले प्रमुख सचेतकहरुले केही प्राविधिक समस्याका कारण यस्तो सोचेको भएपनि संसदको आयु लम्ब्याउने दिशामा गठबन्धन नरहेको स्पष्ट पार्नुभयो । उहाँले मंसिर ४ गतेको चुनावका लागि मनोनयनपछि संसद नरहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संशोधन गइरहेको छ, आयु लम्ब्याउनेतिर जानु हुँदैन भन्ने हामी गठबन्धनले छलफल गरिसकेको छ । मंसिर ४ गते चुनाव हुन्छ, मनोनयनपछि संसद रहँदैन । त्यसमा दुविधा छैन, बीचमा केही टेक्निकल कारणले समय लम्ब्याउने की भन्ने संसदभित्र प्रमुख सचेतकहरुले त्यो सोच्नुभएको रहेछ । सायद आज नै केही समय थप्ने की भन्नेकुरा फिर्ता हुन्छ ।’

अध्यक्ष दाहालले विगत ५ वर्षमा सरकारले जनताको आशाअनुरुपको काम गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले वाम एकतापछि आफूले धेरै ठूलो सपना देखेको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेकोले जनताका सपना पूरा गर्न नपाएको बताउनु भयो । उहाँले देशमा राजनीतिक स्थिरताको आवश्यक्ता रहेको उल्लेख गर्दै निर्वाचनपछि बन्ने सरकारले जनताका सपना पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो । गत वर्ष संविधान मिचिने हो कि भन्ने संशय पैदा भएको भन्दै आगामी निर्वाचन सकिएसँगै संविधान मिच्ने खतरा नेपालबाट टरेर जाने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘५ वर्षमा जति काम हुनुपर्दथ्यो, त्यो नभएकै हो । जनतामा जे जति राहत दिनुपर्ने हो, त्यो नभएको नै हो । हामीले निकै ठूलो सपना देखेका थियौँ । वामपन्थी गठबन्धन गरेपछि, पार्टी कम्युनिष्टहरुको एकता गरेपछि देशमा राजनीतिक स्थिरता होला, शिक्षा, स्वास्थ्य, राजनीतिमा धेरै विकास गर्न सकिएला भनेर मैले नै पहल गरेर वाम एकता गरेको हो । तर हामीले नै प्रश्तावित गरेको प्रधानमन्त्रीबाट हामीले घोषणापत्रमा भनेको जस्तै सबै उल्लंघन गरेर जाँदा बाध्य भएर संघर्षमा उत्रियौँ । राजनीतिक स्थिरताको देशमा आवश्यक्ता छ । हाम्रो जोड यो निर्वाचनपछि बन्ने सरकारले त्यो काम गर्ने वातावरण बनोस भन्ने चाहना छ । अहिले सफलतापूर्वक निर्वाचन सम्पन्न हुन जनताको विजय हो । गतसाल देखापरेको संविधान मिचिने खतरा यो निर्वाचन समापन भएपछि नेपालबाट करिव टरेर जान्छ ।’

अध्यक्ष दाहालले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभामा नेपाली काँग्रेसले ८० सिटमा चित्त बुझाउने पक्कापक्की भएको बताउनु भयो । उहाँले नेकपा माओवादी ६०, एकीकृत समाजवादी २५, जनता समाजवादी पार्टी ले २५ सिटको आसपासमा सिट पाउने गरी गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसले पहिला १०० भनेको थियो, अहिले ८० आसपासमा मिल्ने लगभग छ, माओवादीले ६० भनेको त्यही आसपासमा हुन्छ, त्यस्तै समाजवादीले २५, जनता समाजवादीले पनि २५ को वरिपरि दाबी छ । यसैलाई आधार बनाएर क्षेत्र र प्रदेशसम्म टुंग्याउने छलफल भइरहेको छ । सुझाव दिने र नमिलेको सिट शीर्ष तहमा बसेर टुंग्याउनेमा लागिएको छ । हाम्रो निर्वाचन प्रणाली र हाम्रो शासकीय प्रणाली जनताको आवश्यक्ता र राष्ट्रको आवश्यक्ताको अनुकुल छैन । सामान्य जनताले निर्वाचन लडनसक्ने निर्वाचन प्रणाली हुने छैन । यही प्रणालीबाट सांसद हुने र बहुमतले प्रधानमन्त्री हुने प्रणालीको कारणले भ्रष्टाचार धेरै मौलाउने कारण त्यसैभित्र लुकेको छ । त्यसैले निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गर्नुपर्छ । यो निर्वाचन प्रणालीले देशलाई धेरै अघि जान दिँदैन । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भयो भने मात्रै भ्रष्टाचारलाई रोकेर स्थायित्व र विकासलाई गति दिन सकिन्छ । यो प्रमाणित भइसकेको छ । यो निर्वाचन प्रणाली र शासकीय प्रणाली जनता र राष्ट्रको हीतमा छैन भन्ने सबैलाई लाग्न थालिसकेको छ ।’

फरक प्रसंगमा अध्यक्ष दाहालले निर्वाचन प्रणाली र हाम्रो शासकीय प्रणाली जनताको आवश्यक्ता र राष्ट्रको आवश्यक्ताको अनुकुल नरहेको दाबी गर्नुभयो । उहाँले यही प्रणालीबाट सांसद हुने र बहुमतले प्रधानमन्त्री हुने प्रणालीको कारणले भ्रष्टाचार धेरै मौलाएको उल्लेख गर्दै निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार हुन आवश्यक रहेको बताउनु भयो । उहाँले यो निर्वाचन प्रणालीले देशलाई धेरै अघि जान नदिने ठोकुवा गर्नुभयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनसकेमात्रै भ्रष्टाचारलाई रोकेर स्थायित्व र विकासलाई गति दिन सकिने बताउनु भयो ।

 

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका