बाइक तथा स्कुटरको ट्रायल पास गर्ने यस्तो छ तरिका • Nepal's Trusted Digital Newspaperबाइक तथा स्कुटरको ट्रायल पास गर्ने यस्तो छ तरिका • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बाइक तथा स्कुटरको ट्रायल पास गर्ने यस्तो छ तरिका

बाइक तथा स्कुटरको ट्रायल पास गर्ने यस्तो छ तरिका

  • समाचारपाटी
  • शुक्रबार, भदौ १०, २०७९
बाइक तथा स्कुटरको ट्रायल पास गर्ने यस्तो छ तरिका

काठमाडौं । सवारी चालक अनुमति पत्र बनाउनका लागि ट्रायल परिक्षा कसरी पास गर्ने भन्ने धेरैको चासो विषय रहेको छ । अधिकांश व्यक्तिहरु लिखित परिक्षामा सहजै पास भएतापनि ट्रायल परिक्षामा सहि तरिकामा कसरी सवारी चलाउने भन्ने जिज्ञासा बन्ने गरेको पाइएको छ ।

उसो त अहिले लाईसेन्सको आवेदन प्रकृयामा नै निकै समस्या हुने गरेको छ । तर थोरै मिहिनेत र केहि स्थानमा सतर्क भएर ट्रायल दिने हो भने सवारी चालक अनुमति पत्र लिन एकदमै सहज छ ।

त्यसैले ट्रायल दिदा निम्न कुरामा ध्यान दिन जरुरी हुन्छ:
ट्रायल सेन्टरमा पुगेपछि बाइक तथा स्कुटर पार्किङमा गएर सबैभन्दा पहिला हेल्मेट लगाउनु पर्दछ । हेल्मेट लगाउने क्रममा लक राम्रोसँग लागे नलागेको विचार गर्न अत्यन्तै आवश्यक हुन्छ । अब हेलमेट लगाइसक्नु भएको छ भने बाइक अथवा स्कुटर स्टार्ट गर्न सक्नु हुन्छ । त्यसपछि, तपाइले उक्त गाडीको स्टायन लगाएर बिस्तारै अगाडि तर्फ बढाउनु पर्दछ ।

ट्रायलको सुरुवात एटको घेराबाट हुन्छ । एटको घेराभित्र छिरिसकेपछि पँहेलो रेखा छुन, खुट्टा टेक्न पाईदैन भने यहाँ बाइक तथा स्कुटरको स्टार्ट बन्द भयो भने फेल भइन्छ । तर अहिलेको नयाँ नियममा भने एकपटकमा एउटा खुट्टा टेक्न पाइने र पहेंलो रेखा एकपटक मात्र छोइएको अवस्थामा फेल नभई त्यसको केहि अङ्क काटिले व्यवस्था लागु भएको छ । यसमा यदि दुईवटै खुट्टा टेक्यो भने अथवा दुई पटक खुट्टा टेक्यो भने फेल भइन्छ ।

त्यस्तै, ट्रायल दिँदा दिइएको पहेंलो रङ्गमा दुई पटक छोइयो भने फेल हुन्छ । तसर्थ, यसमा विशेष ध्यान दिँदै, एक राउन्ड घुमिसकेपछि पुनः आधा राउन्ड लगाएर मात्र बाहिर निस्कनु पर्दछ ।

एट तपाईले कटाउनु भएपछि अगाडि बढ्दा जेब्राक्रसिङ आउने छ, यहि ठाँउमा हो तपाईले सडकमा लाईटलाई कसरी हेर्नु हुन्छ भनेर परिक्षण हुने । त्यसैले जेब्राक्रसमा जानुभन्दा अघि ट्राफिक बत्ती हेर्नुपर्छ । रातो र पँहेलो बत्ती बलेमा जेब्राक्रसमा नछुवाई रोक्नुपर्छ । हरियो बत्ती बलेमा नरोकी अघि बढ्नुपर्छ । जेब्राक्रसमा प्रबेश गरिसकेपछि जुनसुकै बत्ती बलेपनि रोक्किनु पर्दैन ।

जेब्राक्रस पछि प्ल्यांक आउँछ । यसमा तपाई सवार बाइक अथवा स्कुटर पहेंलो रेखाको दायाँ बायाँ अथवा तल गए वा खुट्टा टेकिएको अवस्थामा फेल हुन्छ ।
त्यसपछि तपाई सडकमा गुड्दा दायाँ वा बाँया मोडदा कत्तिको सजक हुनुहुन्छ भन्ने विषयमा परिक्षणमा पर्नु हुन्छ । त्यसैले प्ल्यांक पछि यूटर्न दिइएको हुन्छ । त्यहाँ साईड लाईट बालेर अगाडी बढ्नु पर्ने हुन्छ । यूटर्न सकिएपछि साईड लाईट बन्द गर्नु पर्छ । यदि यहाँ साईड लाईट बाल्न बिर्षनु भयो वा पछि निभाउन बिर्षेमा पनि फेल भइन्छ । यदि साइड लाइट प्ल्यांक काट्नु पुर्व नै बालेको भएमा केहि अङ्क काटिनेछ र यूटर्न छिरिसकेपछि बालेको खण्डमा पनि केहि अङ्क कट हुनेछ ।

अब तपाईको परिषण स्पीड ब्रेकरमा हुनेछ । त्यहाँ बाइकलाई आफ्नो नियन्त्रमा राखेर बिस्तारै अगाडि बढ्नु पर्छ । स्पिड ब्रेकरमा यदि दुईवटै खुट्टा टेकिएमा वा बाइक अफ भएमा केहि अङ्क कट हुनेछ । साथै एकपटक भन्दा बढि दुईवटै खुट्टा टेकिएमा वा बाइक अफ भएमा फेल हुन्छ ।

नयाँ चालकलाई उकालो सबैभन्दा कठिन मानिन्छ । उकालोमा बाइक तथा स्कुटर चलाउँदा बिस्तारै लगेर उकालोमा दुबै रेखाहरु नछोई रोक्नु पर्दछ । उकालोमा बाइक तथा स्कुटर चलाउंदा पछाडि हट्नु हुँदैन । उकालोमा रोक्दा दुवै खुट्टा जमिनमा टेक्न पाइन्छ । ट्राफिक प्रहरीले अगाडि बढ्न संकेत गरेपछि मात्रै अघि बढाउनु पर्दछ ।

त्यसपछि ओरालोमा पनि दुबै धर्काको बीचमा रोक्नु पर्छ । यसमा ट्राफिक प्रहरीले अगाडि बढ्न संकेत गरेपछि मात्र आफु अगाडि बढ्नु पर्छ । यी ७ प्रक्रिया पुरा गरिसकेपछि मात्र तपाई बाइक तथा स्कुटर चलाउने अनुमति पत्र पाउन योग्य हुनुहुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका