‘नेकपा एमाले को मुख्य प्राथमिकता गठबन्धन होइन, चुनावी तालमेल होइन':-योगेशकुमार भट्टराई • Nepal's Trusted Digital Newspaper‘नेकपा एमाले को मुख्य प्राथमिकता गठबन्धन होइन, चुनावी तालमेल होइन':-योगेशकुमार भट्टराई • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘नेकपा एमाले को मुख्य प्राथमिकता गठबन्धन होइन, चुनावी तालमेल होइन’:-योगेशकुमार भट्टराई

‘नेकपा एमाले को मुख्य प्राथमिकता गठबन्धन होइन, चुनावी तालमेल होइन’:-योगेशकुमार भट्टराई

  • समाचारपाटी
  • शुक्रबार, भदौ १०, २०७९
‘नेकपा एमाले को मुख्य प्राथमिकता गठबन्धन होइन, चुनावी तालमेल होइन’:-योगेशकुमार भट्टराई

नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा वहुमत ल्याउने संकल्पका साथ आफनो पार्टी अघि बढने बताउनुभएको छ ।

सचिव भट्टराईले चालु केन्द्रिय कमिटी बैठकले सो निर्वाचनमा वहुमत ल्याउने संकल्पसहितको सन्देश दिने दाबीसमेत गर्नुभयो । न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उहाँले मुलुकको आन्तरिक तथा वाह्य दुवै कारणले नेकपा (एमाले) नेतृत्वको सरकारको खोजि भइरहेको भन्दै सोही आवश्यक्ता पूरा हुने गरी आफनो पार्टीले केन्द्रिय कमिटीमार्फत चुनावी रणनीति तय गर्ने पनि स्पष्ट पार्नुभयो । सत्तारुढ गठबन्धन सरकारका कारण मुलुक संकटमा परेको आरोप लगाउँदै सचिव भट्टराईले त्यसबाट मुलुकलाई पार लगाउन आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको दोहोर्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज यो गठबन्धनको कारणले मुलुक संकटमा छ । हाम्रो वैदेशिक सम्बन्धहरु बिग्रिरहेको छ । अमेरिकासँग, भारतसँग, चीनसँग हाम्रो सम्बन्ध बिग्रेको छ । महाशक्ति राष्ट्रहरु चाहीँ नेपालको मामिलामा एकअर्काबीचमा भनाभन गरिराखेका छन । नेपालले त्यसमा सन्तुलन गुमाइरहेको अवस्था देखिन्छ अहिलेको सरकारको कारणले । त्यसो भएको हुनाले विश्व समुदायसँग एउटा मैत्रीपूर्ण सम्बन्ध राख्ने, पारस्परिक हीतमा सम्बन्ध कायम गर्ने । नेपालको हीतमा सम्बन्धहरु कायम गर्ने । त्यो असंलग्न परराष्ट्र नीतिलाई दृढताका साथ कार्यान्वयन गर्ने कुरा एउटा पक्ष भयो । अर्कोतिर नेपालको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको निम्ति एउटा बलियो राष्ट्रिय सामथ्र्य भएको शक्ति आवश्यक पर्छ । र, त्यो नेकपा एमाले हो । त्यसो हुनाले देश भित्रको आवश्यक्ताले नेकपा (एमाले) को नेतृत्व खोजिराखेको छ । अन्तर्राष्ट्रिय परिस्थितिमा पनि नेपाललाई एउटा सन्तुलित ढंगले उभ्याउन पनि नेकपा (एमाले) को नेतृत्व खोजिराखेको छ । यिनै कुराकासाथ हामी चुनावमा जान्छौं । र, वहुमत ल्याउने संकल्पका साथ एमाले जान्छ । र, यो केन्द्रिय कमिटी बैठकले त्यो सन्देश दिन्छ ।’

सचिव भट्टराईले आगामी निर्वाचनमा अन्तर्घात नहुने गरी पार्टीको सिंगो पंक्तिलाई परिचालन गर्न पनि केन्द्रिय कमिटी बैठकले आवश्यक निर्देशन दिने बताउनु भयो । उहाँले पार्टीको उम्मेदवार चयनमा स्थानीय तह निर्वाचनमा भएका कमी कमजोरीहरुलाई पनि आफनो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दोहोरिन नदिने दाबी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा आफनो पार्टीको प्राथमिकता गठबन्धन नभएको पनि स्पष्ट पार्नुभयो । संवैधानिक व्यवस्था अनुसार चुनावमा दलहरुबीच प्रतिष्पर्धा हुने भएकाले आफनो दल आफनै सामथ्र्यमा उभिएर निर्वाचनमा जाने उहाँको तर्क थियो । सचिव भट्टराईले स्थानीय तह निर्वाचनमा भएको नकारात्मक सन्देशहरुबाट सिकेर आगामी निर्वाचनमा आफनो पार्टीले सम्पूर्ण शक्ति परिचालन गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेकपा (एमाले) को मुख्य प्राथमिकता गठबन्धन होइन । चुनावी तालमेल होइन । नेकपा (एमाले) आफनो तागतमा आफनो सामथ्र्यमा, आफनो घोषणा पत्रको आधारमा, आफनो विचार र सिद्धान्तको आधारमा जनताको बीचमा जान्छ । र, पार्टीलाई सम्पूर्ण ढंगले यो निर्वाचनमा परिचालन गर्छ । गएको स्थानीय तह निर्वाचनमा हाम्रा केही नकारात्मक सन्देशहरु पनि छन । पार्टीभित्र कहीँकहीँ उम्मेदवार छनोट नमिलेको, पारदर्शिता नभएको, पार्टीभित्र अन्तर्घात भएको, मतहरु अदलबदल गरेको यस्ता केही घटनाहरु पनि प्रतिनिधिमुलक ढंगले विभिन्न ठाउँमा छन । त्यसो भएको हुनाले आउने चुनावमा त्यस्तो नहोस भन्नका लागि उम्मेदवार छनौटमै व्यापक पारदर्शिता गर्ने । जसले जित्न सक्छ, जो इमान्दार छ । त्यो साथीले टिकट पाओस भन्ने ध्यान दिने । टिकट पाइसकेपछि उसलाई जिताउनका लागि सिंगो पार्टी पंक्ति लाग्ने । यो स्पिरिटका साथ यो केन्द्रिय कमिटी बैठकले सिंगो पार्टी पंक्तिलाई निर्देश गर्छ ।’

सचिव भट्टराईले आगामी निर्वाचनमा आफनो पार्टीले इमान्दार र जित्न सक्ने नेताहरुलाई उम्मेदवार बनाउने मापदण्ड तय गरेको पनि बताउनु भयो ।

न्युज एजेन्सी

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका