प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रश्तावमाथि अध्ययन शुरु • Nepal's Trusted Digital Newspaperप्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रश्तावमाथि अध्ययन शुरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रश्तावमाथि अध्ययन शुरु

प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रश्तावमाथि अध्ययन शुरु

  • समाचारपाटी
  • बुधबार, भदौ १, २०७९
प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रश्तावमाथि अध्ययन शुरु

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराबिरुद्धको महाअभियोग प्रश्तावमाथि अध्ययन शुरु गरेको छ ।

समिति गठन भएको करिव ६ महिनापछि बुधवार सिंहदरवारमा बसेको सो समितिको पहिलो बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी त्यसको मस्यौदामाथि छलफल गरेको हो । त्यसैगरी बैठकले अर्को बैठकमा सो महाअभियोग टुंगो लगाउने गरी कार्यतालिकाको मस्यौदा तयार पारी समितिको बैठकमा पेस गर्ने अधिकार सचिवालयलाई दिने निर्णय पनि गरेको छ । समितिका ज्येष्ठ सदस्य र सदस्यहरुसँग आवश्यक समन्वय गरी सो महाअभियोग टुंगो लगाउनका लागि कार्यतालिका अर्को बैठकमा पेस गर्ने अधिकार सचिवालयलाई दिने निर्णय बैठकले गरेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आगामी बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल गरी निर्णय गर्ने समितिको बैठकले निर्णय गरेको छ । त्यसका लागि सचिवालयले तयार पारेको कार्यविधिको मस्यौदा सबै माननीय सदस्यज्यूहरुले प्राप्त गरिसक्नु भएको छ । दोस्रो, सचिवालयले आगामी बैठकमा कार्यतालिका प्रश्तुत गर्ने । समितिमा रहनुभएका सबै माननीयज्यूहरुको समन्वयमा सचिवालयको तर्फबाट आगामी बैठकमा कार्यतालिका प्रश्तुत हुन्छ ।’

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले १ महिना भित्र सो महाअभियोग टुंगो लगाउने गरी कार्यविधि र कार्यतालिका तय गर्नुपर्ने बताउनु भयो । उहाँले प्रतिनिधिसभाको आयु धेरै नभएकाले सो महाभियोग टुंगो लगाउने समय धेरै राख्ननहुने तर्क समेत गर्नुभयो । सांसद पोखरेलले सत्तारुढ दलहरुले संविधान, कानून र नियमावली विपरित सो महाअभियोग प्रश्तावमाथिको छलफल रोकेर राखेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशको प्रधानन्यायाधीशउपर लगाएको महाअभियोगको सन्दर्भ पाँच, पाँच महिनासम्म ऐन, कानून र संविधानको व्यवस्था विपरित अपमानजनक ढंगले रोकेर राख्ने काम गरियो । प्रतिनिधिसभाको आयु नै लामो नभएको हुनाले यसलाई एक महिना भित्र टुंगो लगाउने गरी कार्यतालिका तय गर्नुपर्दछ ।’

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद मिन विश्वकर्माले ३ महिना भित्रसक्ने गरी सो महाअभियोग प्रश्तावलाई टुंगोमा पुर्याउने गरी काम अघि बढाउन उपयुक्त हुने धारणा राख्नुभयो । उहाँले सिंगो संसदले दिएको सो जिम्मेवारीलाई पूरा गर्न समितिका सबै सदस्यहरु गम्भिर भएर लाग्नुपर्ने धारणा समेत राख्नुभयो । सांसद विश्वकर्माले भन्नुभयो, ‘कार्यविधिमा तीन महिना भित्र टुंगो लगाउने भनिएको छ । यस भित्र सो कामलाई सकौं । सिंगो संसदले हामीलाई जिम्मेवारी दिन विलम्व गरेको हो । कार्यतालिका तुरुन्त बनाऔं ।’

बैठकमा समितिका अन्य सदस्यहरुले पनि सो महाअभियोग प्रश्ताव टुंगो लगाउने काममा ढिलाई गर्न नहुने धारणा राख्नुभएको थियो । सो महाअभियोग सिफारिस समिति ११ सदस्यीय रहेको छ ।

Sequence 09.03 47 16 19.Still1380 Sequence 09.03 47 36 23.Still1389 Sequence 09.03 48 26 08.Still1386

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका