‘एउटा विशिष्ट परिस्थितिमा मैले सरकारको नेतृत्व लिएको हुँ':-प्रधानमन्त्री देउवा • Nepal's Trusted Digital Newspaper‘एउटा विशिष्ट परिस्थितिमा मैले सरकारको नेतृत्व लिएको हुँ':-प्रधानमन्त्री देउवा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘एउटा विशिष्ट परिस्थितिमा मैले सरकारको नेतृत्व लिएको हुँ’:-प्रधानमन्त्री देउवा

‘एउटा विशिष्ट परिस्थितिमा मैले सरकारको नेतृत्व लिएको हुँ’:-प्रधानमन्त्री देउवा

  • समाचारपाटी
  • मङ्लबार, साउन ३१, २०७९
‘एउटा विशिष्ट परिस्थितिमा मैले सरकारको नेतृत्व लिएको हुँ’:-प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफनो पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउने काममा ध्यान दिन सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले सो निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न र नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको भुमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नुभयो । काँग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन ललितपुरको हेरिटेज गार्डेनमा सोमवारबाट शुरु भएको कार्यक्रममा बोल्दै उहाँले सो निर्वाचनमा पार्टीको पक्षमा जनताको समर्थन जुटाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । लोकतन्त्रमा जनताभन्दा ठूलो अरु कोही नहुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि जनताको साथ र समर्थन लिएर आफनो पार्टी विजयी हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले सत्तारुढ गठबन्धन मिलेर निर्वाचनमा गएकाले स्थानीय तह निर्वाचनमा पार्टीले सफलता हात परेको स्पष्ट पार्दै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले मिलेर चुनाव लडने तयारी गरिरहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि सफलता हात पार्नका लागि जनताको मन जित्नुपर्ने र त्यसका लागि स्थानीय तहका पार्टीका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने पटकपटक दोहोर्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा विशिष्ट परिस्थितिमा मैले सरकारको नेतृत्व लिएको हुँ । कोभिडबाट जनताको जीवनलाई सहज बनाउने चुनौती पनि थियो । त्यस्तै देशमा सुशासन, लोकतान्त्रिक मूल्य,मान्यता र संविधानको भावना अनुसार देशको शासन सत्ता चलाउने चुनौती पनि थियो । एमसीसीबारे व्यापक भ्रम सिर्जना गरिएको थियो । ती सबै समस्या समाधान गर्न मेरो नेतृत्वको सरकारले महत्वपूर्ण सफलता हासिल गरेको हो । स्थानीय तहको निर्वाचन सफलताका साथ सम्पन्न भएको छ । यो निर्वाचनमा नेपाली काँग्रेसले महत्वपूर्ण सफलता हासिल गरेको छ । अब हाम्रो ध्यान आगामी मंसीर ४ गते हुने आम निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने र नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन तपाईहरुको ठूलो भूमिका हुनेछ भन्ने मैले विश्वास लिएको छु । त्यसैले सम्पूर्ण पार्टी पंक्तिलाई जिताउनका लागि सक्रियताका साथ लाग्नुहुनेछ आम निर्वाचनमा ७४ सालमा हामी एक्लै चुनाव लडनुपर्ने स्थिति थियो । विपक्ष गठबन्धन बनेपछि हामीले पराजय हुनुपर्यो । यसपाली हामी गठबन्धन सरकारमा छौं । गठबन्धनकै कारण स्थानीय तह निर्वाचनमा सफलता हासिल गरेका हौं । फेरि गठबन्धन गरेर जानका लागि हामीले छलफल गरिरहेका छाैँ । स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको मन जित्ने काम गर्नुपर्दछ । जुन ठाउँमा जनताका मन जितिएको छ, कामहरु भएका छन । त्यहाँ एक्लै चुनाव लडदा पनि सफलता पाएका छौं । त्यसैले आउँदा दिनहरुमा पनि सार्वभौमसत्ता सम्पन्न जनताको हीतमा अब आउने चुनावमा जनताको समर्थन प्राप्त गर्नलाई पार्टीका सबै साथीहरुले त्यस काममा लागेर जनताको दिल जित्यौं भने हामीले अवश्य पनि चुनाव जित्नेछौं । जनताभन्दा ठूलो कोही छैनन । उनीहरुको साथ, समर्थन लिनु आवश्यक छ ।’

प्रधानमन्त्री देउवाले कोभिड संकट समाधान गराउन, संवैधानिक मूल्य,मान्यता अनुसार मुलुकलाई अघि बढाउन, एमसीसीबारे भएको भ्रम चिर्न आफू नेतृत्वको सरकारले महत्वपूर्ण सफलता हासिल गरेको दाबीसमेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै काँग्रेस उपसभापति धनराज गुरुङले पार्टीलाई आगामी आम निर्वाचनमा बहुमत नजिकको पार्टी हुने गरी विजयी गराउने काममा पार्टीबाट निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका