सुदर्शन गौतम ‘एक्स ९’मा अनुबन्धित • Nepal's Trusted Digital Newspaperसुदर्शन गौतम ‘एक्स ९’मा अनुबन्धित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुदर्शन गौतम ‘एक्स ९’मा अनुबन्धित

सुदर्शन गौतम ‘एक्स ९’मा अनुबन्धित

  • समाचारपाटी
  • शनिबार, साउन २८, २०७९
सुदर्शन गौतम ‘एक्स ९’मा अनुबन्धित

२०७१ सालमा प्रदर्शनमा आएको अभिनेत्री रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित फिल्म ‘हिम्मतवाली’बाट सुदर्शन गौतमले अभिनय करिअर सुरु गर्नुभएकाे थियाे । तर, डेब्यू फिल्म सफल भए पनि उहाँले अभिनयलाई भने निरन्तरता दिन सक्नुभएन् । लामो समयदेखि क्यानडामा बसोबास गर्दै आउनुभएका उहाँले ८ वर्षपछि अभिनयमा फर्किने निर्णय गर्दै फिल्म ‘एक्स ९’ साइन गर्नुभएकाे छ ।

केही दिनदेखि फिल्मको छायांकन प्रवन्ध मिलाउन क्यानडामा रहनुभएका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गर्नुभएकाे हाे । फिल्मको केही प्रतिशत छायांकन क्यानडामा हुनेछ र त्यहाँको पार्टमा सुदर्शन देखिनुहुनेछ । निर्देशक भट्टले फिल्ममा सुदर्शन गौतमको भूमिका सशक्त रहेको बताउनुभएकाे छ । फिल्मका लागि सुदर्शनले आकर्षक पारिश्रमिक बुझेको बताइएको छ ।

८ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका सुदर्शनले राम्रो टिम र बलियो चरित्र पाएकाले आफू ‘एक्स ९’मा काम गर्न राजी भएको जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘म फिल्मबाट कहिल्यै पनि टाढा थिइनँ । विभिन्न कारणले समय दिन नपाएको मात्र हुँ । फेरि फिल्ममा काम गर्दा राम्रो टिम र बलियो चरित्र हुनुपर्छ भन्ने मान्यतामा अडिग थिएँ । यी सबै कुरा ‘एक्स ९’मा पाएँ,’ क्यानडाबाट उहाँले भन्नुभयाे ।

एक दुर्घटनामा दुवै हात गुमाउनुभएका सुदर्शनले बिना हात संसारकै अग्लो शिखर सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाउनुभएकाे छ । खुट्टाले लेखेर नेपाल कर्मश क्याम्पसबाट मास्टर्स र क्यानडामा डिप्लोमा गर्नुभएका उहाँ कम्प्यूटरदेखि गाडीसम्म खुट्टैले चलाउँनुहुन्छ । क्यानडमा मोटिभेसनल स्पिकरको रुपमा परिचित सुदर्शनले फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा राम्रो सम्भावना देखाउनुभएकाे थियाे ।

‘एक्स ९’लाई नेटफ्लिक्समा रिलिज गर्न निर्देशक भट्टले प्रयास गरिरहनुभएकाे छ । सम्भवतः आगामी महिना नेटफ्लिक्ससँग फिल्मको टिमबीच कागजी सम्झौता हुनसक्ने जानकारी प्राप्त छ । फिल्ममा सुदर्शनसँगै सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का, राज कटुवाल, अनुपविक्रम शाहीलगायतको अभिनय रहनेछ । यो फिल्मबाट मोडल नीति शाहले अभिनेत्रीको रुपमा डेब्यू गर्दैहुनुहुन्छ ।

sudarshan gautam and mukunda bhatta 2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका