आज जनै पूर्णिमा, रक्षा बन्धन, जनै लगाउनुको अर्थ र महत्त्व • Nepal's Trusted Digital Newspaperआज जनै पूर्णिमा, रक्षा बन्धन, जनै लगाउनुको अर्थ र महत्त्व • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज जनै पूर्णिमा, रक्षा बन्धन, जनै लगाउनुको अर्थ र महत्त्व

आज जनै पूर्णिमा, रक्षा बन्धन, जनै लगाउनुको अर्थ र महत्त्व

  • समाचारपाटी
  • शुक्रबार, साउन २७, २०७९
आज जनै पूर्णिमा, रक्षा बन्धन, जनै लगाउनुको अर्थ र महत्त्व

जनै वा यज्ञोपवीत को महत्त्व
ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात जनै लगाउने चलन रही आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु-पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

जनै लगाउनुको अर्थ
यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुई वटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

नेवा संस्कृतिमा जनै पूर्णिमा
” आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ। नेवार समुदायले आजको दिनलाई “गुंला महिनाको पुन्हि” अर्थात् “गुंपुन्हि” भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।

रक्षा बन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरी दिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रही आएको हो । कतिपयले आफै गुरु पुरोहित कहाँ गई या मठ मन्दिरमा गएर रक्षा बन्धन बाँध्ने गर्दछन् ।

राखी लगाउने चलन

यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजु-भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखी को चलन र यस चाडको महत्त्व एकदमै बढी रहेको छ ।

रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, “रक्षा” र “बन्धन”। संस्कृत शब्दावलीको अनुसार यसको अर्थ “सुरक्षाको गाँठो” हुन्छ। यो चाड दाजुभाइ-दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो। यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदीबहिनी या दाजुभाइ मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ। यस दिन, दिदीबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाइको हातमा रक्षा बन्धनको धागो बाँधिदिने चलन छ। त्यसै गरि दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिन्छन् र आफ्ना दिदीबहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन्।

जनै पूर्णिमा को बिशेष मेलाहरू

आजको दिन ज्वाइँ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमान्डाैँ पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाईंकुण्ड, जनकपुरको गङ्गा सागर, धनुष सागर, सोलुखुम्बुको दूध कुण्ड, खोटाङको हलेसी, जुम्लाको दान साधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ ।

डोराका शिखाहरूको महत्त्व
विशेषतः ब्राह्मण, क्षेत्रीय या अन्य कुनै वैदिक धर्म पालन गर्ने समुदायमा ब्राह्मण पुरोहितसँग हातमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरिएको छ । सनातन हिन्दु वैदिक ग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्म सूत्र अर्थात् वेदोक्त्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्न कालागि ग्रहण गर्न मन्त्रिएर तयार पारिएको ६ सूते धागोको समूह हो जसलाई तयार पार्दा ३-३ वटा डोराको दुइ वटा बन्धन तयार पारिन्छ जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकहरूको योग मानिन्छ ।

जनैको धारण र गायत्री मन्त्रको उच्चारण
परिवर्तित परिप्रेक्ष्य चूँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षत्रीयमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान् जोकोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवीत अर्थात् जनै अरूलाई लगाइदिन र आफूले पनि लगाउन सक्दछन् । स्मरण रहोस् मन्त्रिएका यज्ञोपवीतको धारण गर्नाले सभिथा अर्थात् सूर्य भगवानको प्रत्यक्ष ऊर्जा प्राप्त गर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र आध्यात्मिक सामर्थ्यको वृद्धि हुने विश्वास छ ।

साथै यज्ञोपवीत धारण गरेपछि समस्त सनातन कर्महरूको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहराउँदछ । आजभोलि वैदिक सनातन धर्मलाई केवल जातीय आधार र छुवाछुतका रूपमा लिइने चलन छ, जुन अत्यन्त सकुंचीत कुण्ठा मात्र हो ।

ब्राह्मण पथ र यज्ञोपवीतको सम्बन्ध
यज्ञोपवीतले ब्राह्मण पथमा लाग्ने राहदानीको कार्य गर्दछ तथापि ब्राह्मण पथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगको भलो अनि अध्यनशिलताको पथ नै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रूपमा मात्र हेर्न हुँदैन । जुनसुकै धर्म या जातीय पृष्ठभूमिको भए पनि अध्ययनशीलता र आत्मिक शुद्धताको ब्राह्मण पथमा आलीन हुन सक्दछन् ।

hamropato

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका