अबको पाँच महिनापछि पोखर अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट सिधै उडान–अवतरण हुने • Nepal's Trusted Digital Newspaperअबको पाँच महिनापछि पोखर अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट सिधै उडान–अवतरण हुने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अबको पाँच महिनापछि पोखर अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट सिधै उडान–अवतरण हुने

अबको पाँच महिनापछि पोखर अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट सिधै उडान–अवतरण हुने

  • समाचारपाटी
  • बुधबार, साउन २५, २०७९
अबको पाँच महिनापछि पोखर अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट सिधै उडान–अवतरण हुने

पाेखरा । भैरहवाको गौतमवुद्ध विमानस्थलपछि पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारीमा छ ।

भौतिक संरचना निर्माण र केही उपकरण जडानको काम बाँकी नै रहे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले १ जनवरी २०२३ लाई विमानस्थलको व्यवसायिक उद्घाटन गर्ने गरी मिति तोकेको छ । अर्थात् अबको करिब पाँच महिनापछि पोखरामा विदेशबाट समेत सिधै उडान–अवतरण हुनेछ ।

नियमित उडान सुरु गर्नुअघिका सबै प्राविधिक पक्ष यो पाँच महिनाको अवधिमा सक्ने गरी सरकारले तयारी गरिरहेको छ । बुधबार विमानस्थलको अनुगमनमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १ जनवरीअघि सबै तयारी सक्ने बताउनुभयाे ।

‘हामीले १ जनवरीमै किन भन्यौं भने नियमित फ्लाइटअघि निश्चित प्राविधिक पक्ष हुन्छन् । क्यालिब्रेसन फ्लाइट गर्नुपर्ने, त्यो गरेपछि निश्चित महिनापछि मात्र फ्लाइट गर्नुपर्ने यस्ता आधार रहेछ, त्यसैले सबै कुरा मिलाउनुपर्छ’ उहाँले भन्नुभयाे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको एक समितिले विमानस्थलको संगठन संरचनाको काम गरिरहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयाे ।

अहिले सञ्चालनमा रहेको पोखरा विमानस्थलका कर्मचारीलाई समेत नयाँ विमानस्थलमा सारिने छ । ‘कति कर्मचारी नयाँ विमानस्थलमा सार्ने र कसरी उडानलाई नियमित गर्ने भन्ने विषयमा अझै मिहिन छलफलमै छौं’ पोखरा विमानस्थलका प्रमुख तथा नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख बिक्रम गौतमले भन्नुभयाे।

पोखरा विमानस्थल निर्माण सुरु हुँदै गर्दा स्वदेशी वायु सेवा कम्पनी वुद्ध एयरले २५ माघ २०७८ मा विमानस्थल सञ्चालनमा आएपछि ५ वटा जहाज पोखरामा राखेर राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको थियो । त्यसबाहेक अरु विमान कम्पनीले अहिलेसम्म यस्ता घोषणा गरेका छैनन् ।

तर विमानस्थल सञ्चालनमा आउने समयसम्म वायुसेवा कम्पनीहरु पनि उडान भर्न तयार हुने नागरिक उड्डयन प्राधिकरणको विश्वास छ ।

चिनियाँ लगानीमा चिनियाँ निर्माण कम्पनीले नै बनाएको यो विमानस्थलमा चिनियाँ वायु सेवा कम्पनीले नै उडान सुरु गर्ने अपेक्षा नागरिक उड्डयन प्राधिकरणको छ । ‘पोखरा चिनियाँ पर्यटकले रुचाउने प्रकृतिको गन्तव्य हो’, प्राधिकरणका प्रवक्ता निरौला भन्नुहुन्छ, ‘त्यसकारण पोखरा विमानस्थललाई बढी ट्राफिक चिनियाँ वायुसेवा कम्पनीबाटै आउने अपेक्षा गरिएको छ ।’

onlinekhbar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका