काठमान्डौं । राप्रपा नेपालको बझाङ–काठमान्डौं सम्पर्क समाजको गठन भएको छ । बझाङबाट काठमान्डौं आइ विभिन्न पेशा, व्यवसाय गरेर बसेका राप्रपा नेपाल समर्थितहरुको आज सम्पन्न भेलाले भुवन कुँवरको अध्यक्षतामा १५ सदस्यिय बझाङ–काठमाडौं सम्पर्क समाजको गठन गरेको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका उपाध्यक्ष दिल विकास राजभण्डारीले सम्बद्र्धनवादको धरातलको जगमा नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउने महान उदेश्यका साथ अघि बढेको राप्रपा नेपालको गतिलाई अब कसैले रोकेर रोक्न नसक्ने ठोकुवा गर्नुभयाे । दिनदिनै राप्रपा नेपालप्रति आकर्षण बढेर पार्टी प्रवेश गर्नेहरुको लहरले पार्टीको गतिलाई अझ तिव्र बनाएको भन्दै आउँदो संघीय निर्वाचनबाट पार्टीलाई राष्ट्रिय पार्टी मात्र होईन देशको अग्रणी राष्ट्रवादी शक्ति बनाउन जनलहर सुरु भइसकेको राजभण्डारीले बताउनुभयाे ।
सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टीका नेता श्याम तिमल्सिना, महामन्त्री राजाराम वर्तौला, सह महामन्त्री दमन वस्नेत लगायतका नेताहरुले वडा तहसम्म संगठन विस्तार गरेर पार्टीलाई मुलुकको जिम्मेवार राष्ट्रवादी शक्ति बनाउन सबै तहका नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।
पार्टीका सहायक महामन्त्री एवं सम्पर्क समाज समन्वय विभागका संयोजक हिक्मत जंग भण्डारीले उपत्यका बाहिरका ७४ वटै जिल्लासँग सम्बन्धित सम्पर्क समाजको चाँडै गठन गरिने जानकारी दिंदै यसको लागि समन्वयमा सहयोग गर्न पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यलगायत जिल्ला अध्यक्षहरुसँग आग्रह गर्नुभएकाे थियाे ।
जमलस्थित होटल यल्लो प्यागोडामा आयोजित कार्यक्रममा गठित बझाङ–काठमाडौं सम्पर्क समाजको अन्य पदाधिकारी हरुमा उपाध्यक्षमा धिरज दौल्याल र प्रशान्त सिंह, सचिबमा प्रभु सिंह, कोषाध्यक्षमा सुनिल भण्डारी तथा सदस्यहरुमा विजय दौल्याल, जितेन्द्र सिंह, समशेर दौल्याल, रोशन थापा,अमृत वोहरा, गजेन्द्र सिंह, प्रिन्स सिंह, केशव बजगाईं, केशव सिंह र विरेन्द्र कुँवर रहेका छन् ।