आज गुँला पर्व, अन्तर्राष्ट्रिय बाघ दिवस,बाघको महत्त्व • Nepal's Trusted Digital Newspaperआज गुँला पर्व, अन्तर्राष्ट्रिय बाघ दिवस,बाघको महत्त्व • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज गुँला पर्व, अन्तर्राष्ट्रिय बाघ दिवस,बाघको महत्त्व

आज गुँला पर्व, अन्तर्राष्ट्रिय बाघ दिवस,बाघको महत्त्व

  • समाचारपाटी
  • शुक्रबार, साउन १३, २०७९
आज गुँला पर्व, अन्तर्राष्ट्रिय बाघ दिवस,बाघको महत्त्व

गुँला पर्वको पृष्ठभूमि
यस गुँला महिनामा गुँला पर्व नेवा: समुदायमा विशेष रूपमा अनि काठमान्डौँ उपत्यका लगायत अन्य केही नेवा: समुदायको बाहुल्यता भएका ठाउँमा मनाइन्छ । नेवा: समुदायका बौद्ध मार्गी परिवारमा यस पर्वको उल्लास अझ बढी आत्मिक अनि चिन्तनगत रूपमा रहेको पाइन्छ, भगवान् बुद्ध अनि वहाँका अनुयायीहरू दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई बर्खा अनि ज्ञानको एउटा सङ्गम पनि मानिने गरिन्छ । विशेष गरी नेवार समुदायले मनाउने गुँला पर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ ।

द्यः थायेगु
आज काठमान्डौँ उपत्यकाका चोक चौराहहरुमा विशेष गुँला सङ्गीतको श्रवण गर्न सकिन्छ भने विभिन्न गुम्बा, मन्दिर अनि आत्मिक स्थलमा भक्तजनको आवागमन धेरै रहन्छ । बहीद्यः स्वःवनेगु नेवा: सस्कृतीको अनन्य पाटो हो जहाँ अघिअघि बाजा अनि सङ्गीत अनि पछि पछि भक्तजनहरू हुन्छन्, आजका दिनमा यस्ता झाँकीहरू प्रशस्तै देख्न सकिन्छ, काठमान्डौँ उपत्यकामा । द्यः थायेगु आजको विशेष क्रियाकलापमा पर्दछ, आज कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले ससाना स्तुपा बनाउने चलन रहन्छ । काठमाडौँ र ललितपुरमा पन्जारा अर्थात् बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई सहरमा घुमाउने अनि चामल लगायतका बस्तु जम्मा गर्ने चलन पनि छ । बौद्ध मार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्त्व दिने गरिन्छ ।

दिपनंकर बुद्ध अनि पौवका प्रतिमाहरू यस दिनमा विशेष गरिन्छ, हुन त गुँला एक दिनको मात्र चाड त हैन यस चाडलाई चन्द्रमानका विभिन्न तिथिमा विभिन्न प्रकारले मनाइन्छ । बर्खाको अन्त्य सगैं आउने खुला आकाश अनि सफा बादलका टुक्राहरूमा आआफ्ना दिनचर्याका खाका गज्जबले कोरौँ, सबैलाई शुभकामना ।

Tiger

अन्तर्राष्ट्रिय बाघ दिवस

बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ दिवस’का रूपमा मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन थियो । रुसका तत्कालीन प्रधानमन्त्री भ्लाडिमिर पुटिन र विश्व बैङ्कका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम थालनी गरिएको हो । त्यसयता हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो । यस दिन बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको सङ्ख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन गरी यो दिन मनाइन्छ ।

बाघको महत्त्व
बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । यो त छँदै छ, हाम्रो जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्‍याउँछ । खाद्य शृङ्खलामा बाघ मुख्य सिकारी जनावर भएका कारणले जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ ।

वातावरणीय सन्तुलन जङ्गली जनावरका लागि मात्र नभएर स्थानीयदेखि विश्वभरका मानिसहरूका लागि पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्छ भन्ने कुरा भनिरहन नपर्ला । विद्यार्थी जीवनमा विज्ञानको किताबमा घाँस, बाख्रा, बाघ र माटो÷मलको चक्र आकारमा रहेको चित्रलाई विज्ञान पढाउने शिक्षक–शिक्षिकाले यी जीवहरूको एक आपसको सम्बन्धबारे बताएको हामीले भुलेका त पक्कै पनि छैनौँ होला ।

बाघलाई वातावरणीय सन्तुलन कायम राख्न मात्र होइन, अन्य पशुपन्छीहरूलाई सहारा प्रदान गर्न सक्ने प्राणीको रूपमा पनि वनस्पति तथा पशुपन्छी विज्ञहरू चिन्छन् । यसलाई अङ्ग्रेजीमा ‘अम्ब्रेला स्पेसिज’ भनिँदो रहेछ । बाघलाई संरक्षण गर्दा धेरै ठाउँ चाहिने भएकाले ठुलै जङ्गल संरक्षित गरिनुपर्छ । यसरी जङ्गलको संरक्षण गर्दा अन्य पशुपन्छीहरूले पनि वासस्थान पाउने भएकाले बाघलाई महत्त्वपूर्ण प्रजातिको रूपमा विश्लेषण गरिन्छ । बाघलाई संरक्षण गर्दा हामीले वन जङ्गलको पनि संरक्षण गरिरहेका हुन्छौँ ।

बाघ संरक्षण कार्यक्रमहरू
सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरू गरिए पनि बाघको सङ्ख्या दिनानुदिन कम हुँदै गइरह्यो । त्यसपछि बाघका वासस्थान भएका मुलुकहरू एकै ठाउँमा भेला हुँदै संयुक्त प्रयास गरेको खण्डमा मात्रै संरक्षण गर्न सकिने खाँका बन्यो । बाघका वासस्थान भएका १३ मुलुकको एकतालाई उदाहरणीय मानिएको छ ।

सन् २०२२ सम्ममा यी १३ मुलुकले बाघको सङ्ख्या दोब्बर बनाउन सकेमा विश्वका लागि यो अनुकरणीय उदाहरण हुन जान्छ ।

२० औँ शताब्दीको पूवाद्र्धमा बाघको जनसङ्ख्या १ लाखको हाराहारीमा रहेकामा यो सङ्ख्यामा ह्रास आई ३,२०० मा झरेको तथ्याङ्कले देखाउँछ । यिनीहरूको सङ्ख्या घट्नुमा मुख्य कारण भनेको जङ्गल फडानीले गर्दा बास स्थलको कमी, मौसममा परिवर्तन, गैर कानुनी सिकार को उपज हो ।

यो प्रवृत्तिमा रोक ल्याउने हेतुले १३ मुलुकहरू संयुक्त रूपमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने महत्त्वाकाङ्क्षी लक्ष्य लिएर विभिन्न पशुपन्छी संरक्षणार्थ संस्थाहरूको सहयोगमा अघि बढिरहेका छन् । भारत, नेपाल, भुटान, बङ्गलादेश, कम्बोडिया, चीन, लाओस्, म्यानमार, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारेको ९ वर्ष हुँदैछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका