नेपाली काँग्रेसका नेता एवम पूर्वउप्रधानमन्त्री प्रकाशमान सिंहले आम उपभोक्ताहरुको अहित हुने खालका कुनै पनि गतिविधि हुन नदिन सम्बन्धित सबै पक्षलाई आग्रह गर्नु भएको छ ।
नेपाल उपभोक्ता संरक्षण महासंघले शनिबार काठमान्डौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले संविधानमा उपभोक्ताको अधिकारबारे मौलिक हकमै व्यवस्था गरेको उल्लेख गर्दै उनीहरुको अहित हुने कुनै पनि काम हुन नदिन सम्बन्धित पक्षहरु सचेत हुनुपर्ने समेत स्पष्ट पार्नु भयो । नेता सिंहले संविधानले व्यवस्था गरेको आम उपभोक्ताको अधिकारबारे जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा पनि जोड दिनु भयो ।
नेता सिंहले भन्नु भयो, ‘संविधानको भावना र मर्म अनुसार आम उपभोक्ताहरुलाई संरक्षण दिनुपर्ने अधिकारहरु के–के आएका छन ? भन्ने कुरा पहिले जानकारी राख्नु पर्दोरहेछ । अव इन्फरमेशननै भएन भने गाह्रो हुन्छ । यो महासंघको माध्यमबाट उपभोक्ताहरुलाई आफनो अधिकारको बारेमा जानकारी गराउनु पर्दछ । हस्पिटलमा होस कि रेष्टुरेन्टहरुमा होस । सपिङ मलहरुमा होस कि अन्य ठाउँहरुमा । उपभोक्ताको अहित हुने काम गर्न नदिन उपभोक्ता अधिकार संघ सम्बन्धित संस्थासंस्थाहरुले ध्यान दिनु पर्दछ ।’
नेता सिंहले उपभोक्ताहरुलाई ठगिन नदिने गरी सूचना दिने व्यवस्था पनि मिलाउनुपर्ने बताउनु भयो ।