‘डमोक्रेटिक सिष्टममा राजनीतिक दलहरुको मुख्य भूमिका हुन्छ':-केपी ओली • Nepal's Trusted Digital Newspaper‘डमोक्रेटिक सिष्टममा राजनीतिक दलहरुको मुख्य भूमिका हुन्छ':-केपी ओली • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • ‘डमोक्रेटिक सिष्टममा राजनीतिक दलहरुको मुख्य भूमिका हुन्छ’:-केपी ओली

‘डमोक्रेटिक सिष्टममा राजनीतिक दलहरुको मुख्य भूमिका हुन्छ’:-केपी ओली

  • समाचारपाटी
  • बुधबार, असार २९, २०७९
‘डमोक्रेटिक सिष्टममा राजनीतिक दलहरुको मुख्य भूमिका हुन्छ’:-केपी ओली

 

नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुको आवश्यक्ता, औचित्य र अपरिहार्यता झनै बढेर गएको बताउनु भएको छ ।

अध्यक्ष ओलीले दलहरुमाथि घृणाभाव फैल्याउने प्रयास भईरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नु भयो । उहाँले स्थानीय तह निर्वाचनमा उठेका स्वतन्त्र उम्मेदवारप्रति लक्षित गर्दै जान्ने हुनका लागि, ठूलो हुनका लागि पनि राजनीतिक दलहरु र नेताहरुलाई गाली गर्ने प्रवृत्ति आएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । मानव अधिकार एलाईन्सले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले दलीय प्रणालीको औचित्य, आवश्यक्ता र अपरिहार्यता आज झन बढेर गएको र भोली पनि कायमै समेत बताउनु भयो । ओलीले मानव अधिकारको रक्षाका लागि दलहरुको संगठित शक्ति अपरिहार्य रहेको बताउनु भयो । उहाँले दलहरु भन्दा व्यक्ति निष्पक्ष हुन्छन भन्ने धारणा सही नभएको पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘डमोक्रेटिक सिष्टममा राजनीतिक दलहरुको मुख्य भूमिका हुन्छ । कहिलेकहिले कोही कोही स्वतन्त्र फाट्टफुट्ट पालिकासालिका वडाहरु छानिनु बेग्लै कुरा हो । तर दलीय प्रणाली, दलहरुको औचित्य, आवश्यक्ता र अपरिहार्यता आजको विश्वले स्विकारेको चिज हो । अपरिहार्यता स्विकारेको चिज हो । र, दलहरुको योगदान आज एउटा ट्रेन्ट चलेको छ–अलिकति चलाउन खोजिएको छ संगठित ढंगले नेपालमा । दलहरुको योगदान, इतिहासमा उनीहरुले जुन ढंगले भूमिका खेले । सामाजिक जागरणका लागि जुन भूमिका खेले । जुन बलिदानपूर्ण संघर्ष गरे । लामो त्यागपूर्ण संघर्ष गरे । कष्टपूर्ण संघर्ष गरे र समाजमा जागरण ल्याए । संगठित प्रयास गरे । परिवर्तन ल्याए । रुपान्तरण ल्याए । अगाडि बढाए समाजलाई । त्यसपछि सम्मान नगर्ने, घृणा भाव फैल्याउने । त्यो प्रवृत्ति अहिले बढाइएको छ । अहिले सबभन्दा जान्ने हुनका लागि, निष्पक्ष हुनका लागि, ठूलो हुनका लागि, अरुभन्दा पृथक हुनका लागि राजनीतिक दल र नेतालाई गाली गर्नुपर्छ । अनि त्यो व्यक्ति चाँही अलिकति निष्पक्ष, तटस्थ भन्ने ठानिनेखालको स्थितिको एउटा यस्तो इम्प्रेषण दिन खोजिएको छ । त्यो कुरा साँचो होइन । त्यो सही होइन । राजनीतिक दलहरुको भूमिका हिजो पनि थियो, आज पनि छ । र, भोली पनि रहन्छ ।’

अध्यक्ष ओलीले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारलाई विशुद्ध र अशुद्ध ठान्न नहुने टिप्पणी पनि गर्नु भयो । मानव अधिकार विशुद्ध र अशुद्ध अनि आंशिक र पूर्ण नहुने तर्क गर्दै उहाँले त्यस्तो भ्रान्तिमा नपर्न राष्ट्रिय मानव अधिकार आयोगलाई सचेत समेत गराउनु भयो । मानव अधिकार एलाइन्सले आयोजना गरेको कार्यक्रममा मानव अधिकार आयोगका कुनै पनि सदस्यहरु उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले आफूलाई सुनपानीले धोएको पवित्र मानव अधिकारवादी र हामीलाई मानव अधिकार उलंघनकर्ता ठान्ने भूल नगर्न पनि चुनौति दिनुभयो । गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय सम्हाल्दा समेत आफनो राजनीतिक जीवनका ५७ वर्षमा कहिल्यै पनि मानव अधिकार उलंघन नगरेको ओलीको दावी थियो । उहाँले आफूले मानव अधिकारको उलंघन अहिलेसम्म नगरेको र अव पनि नगर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । अध्यक्ष ओलीले मानव अधिकारलाई राजनीतिक नियुक्तीको कार्यकाल, जागिरको रुपमा नलिई आर्दश, निष्ठा, यात्रा र गन्तव्यको रुपमा आफूले लिएको पनि स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, ‘मैले गृहमन्त्रीको हैसियतमा गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय पनि सम्हालेको छु । र, मैले परराष्ट्र त आफनो ठाउँमा छ । प्रधानमन्त्रीको हिसावले पनि सम्हालेको छु । जस भित्र अरु मन्त्रालयहरु रक्षादेखि लिएर सबै मन्त्रालय पनि पर्छन, गृह पनि पर्छ । म दावी साथ के भन्न सक्छु भने–यी ५७ वर्षदेखिको मेरो लडाईँ मूलतः मानव अधिकारका लागि हो । मेरो लडाई भनेको मानव अधिकारका लागि । र, म अर्को के भन्छु भने–मैले गृहमन्त्री समेत सम्हालेर प्रधानमन्त्रीसमेत सम्हालेर आएको, चलाएर आएको किन भनेको भने त्यसो भएर पनि मैले मानव अधिकारको अहिलेसम्म उलंघन गरेको छैन । मैले मानव अधिकारको उलंघन गरेको छैन । र, मानव अधिकारको उलंघन गर्दिन । त्यसकारण आफूलाई पवित्र सुनपानीले धोएको, दुवोपानी छर्किएको मानव अधिकारवादी कसैले ठानेर हामीलाई चाँही मानव अधिकारको उलंघनकर्ता ठान्ने भूल गर्छ भने त्यो भूल हो । हामीे मानव अधिकारका लागि मैले मानव अधिकार दिवसको अवसरमा पनि बोल्दा भनेको थिँए–मानव अधिकार मेरो जागिर होईन । मानव अधिकार मेरो एक कार्यकालको नियुक्ती होइन । मानव अधिकार मेरो आर्दश हो । मेरो निष्ठा हो । मेरो उद्देश्य हो । मेरो गन्तव्य हो । मेरो यात्रा हो । र, मेरो पुग्ने गन्तव्य हो । त्यसकारण मानव अधिकार आयोगका माननीय सदस्य सबै आउनु परेन तर कोही त आउनु पर्थाे । मानव अधिकारको क्षेत्रमा यो एलाईन्स क्रियाशील छ भने यसलाई उहाँहरुले आफूभन्दा पृथक होइन, सहयोगी ठान्नुपर्दथ्यो । अव उहाँहरु किन आउनु भएन । यसो मेरो अनुमान है । म एकिन पनि भन्न सक्दिन । यो चाँही मानव अधिकार विशुद्ध मानव अधिकार होइनकि भन्ने ठान्नु भयो कि ? विशुद्ध मानव अधिकार भनेको हुँदै हुँदैन । मानव अधिकार भनेको मानव अधिकार हो, त्यो अशुद्ध पनि हुँदैहुँदैन । त्यसकारण मानव अधिकारलाई विशुद्ध र अशुद्ध, आंशिक र पूर्ण ठान्ने धारणा भ्रान्ति हो, त्यो सही धारणा होइन । यदि उहाँहरुले त्यसो ठानेर नआउनू भएको हो भने त्यो नठान्दा हुन्छ भन्ठान्छु मैले ।’

 

ओलीले राजनीति विकृत भए मानव अधिकारको उलंघनको घटना बढेर जाने तथ्य पनि पटकपटक स्मरण गराउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका