अलौकिक कवि देशभक्तलाई १२ उपाधिसहित सम्मान • Nepal's Trusted Digital Newspaperअलौकिक कवि देशभक्तलाई १२ उपाधिसहित सम्मान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अलौकिक कवि देशभक्तलाई १२ उपाधिसहित सम्मान

अलौकिक कवि देशभक्तलाई १२ उपाधिसहित सम्मान

  • समाचारपाटी
  • सोमवार, असार २०, २०७९
अलौकिक कवि देशभक्तलाई १२ उपाधिसहित सम्मान

पोखरा । अलौकिक कवि देशभक्तसिंह कुँवरलाई पोखरामा शनिबार विभिन्न १२ संस्थाले १२ उपाधिसहित सम्मान गरेका छन् । साहित्य, संगीत, कलाकारिता, संचारकर्मी लगायत विविध क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको कदरस्वरुप उहाँलाई १२ उपाधिसहित सम्मान गरिएको हो । हरेक संस्थाले उहाँलाई नगद ५० हजार, सम्मानपत्र, मायाको चिनो, दोसल्ला सहित सम्मान गरेका हुन् ।

उहाँलाई साहित्य सम्राट, वाङ्मय सम्राट, शब्द सम्राट, सिर्जना सम्राट, लेखक सम्राट, रचना सम्राट, महासाहित्यकार, बहुआयामिक व्यक्तित्व, संगीत मणिरत्न, दिव्य गायक, युग संचारमणि र दुर्लभ महामानव उपाधिबाट सम्मान गरिएको हो । छोटो बसाइँमै साहित्य र संगीतका सिर्जना जति पनि सिर्जित गर्न सक्ने क्षमतावान् उहाँ चार दशकदेखि अनवरत कला, साहित्य र संगीतमा क्रियाशील हुनुहुन्छ  ।

सम्मान गर्ने संस्थाहरुमा इन्याल्क नेपाल (अंग्रेजी प्रौढ साक्षरता अभियान), इन्याल्क नेपाल काठमान्डौं र पोखरा शाखा, उन्नतिशील वाङ्मय प्रतिष्ठान, बैदाम वाङ्मय प्रतिष्ठान, रुपाङ्कन साहित्य परिवार, श्रीवृद्धि साहित्य परिवार, श्री ऐतिहासिक कुँवर तथा राणा सांस्कृतिक समाज, सनलाइट मिडिया टेनिङ सेन्टर, कारवी फाइनान्सियल एजेन्सी काठमान्डौं, काभिन ग्राफिक्स डिजाइनिङ एण्ड सोलुसन र माछापुच्छे नृत्य प्रशिक्षण तथा सांस्कृतिक परिवार हुन् ।

समारोहमा शिक्षाविद् जर्ज जोनसहित १२ प्रमुख अतिथिहरुले उहाँलाई उपाधिसहित सम्मान गर्नुभएकाे हाे । अन्य प्रमुख अतिथिहरुमा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, छन्दनायक माधव विजयी, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, शिक्षाविद् बालगोपाल अमात्य, वरिष्ठ गायिका बाबा राणा, साहित्यकार डा. गेहेन्द्रमान उदास, समाजसेवी अध्यक्ष विश्वमोहन गौचन, शिक्षाविद् टीकाराम कोइराला, वरिष्ठ चिकित्सकहरु प्राडा बुद्धिबहादुर थापा, प्राडा ध्रुव अधिकारी, डा. मुकुन्द आचार्य हुनुहुन्थ्याे ।

इन्याल्क नेपालका अध्यक्ष प्राडा यामबहादुर पौडेल क्षेत्रीलगायतको सामूहिक अध्यक्षतामा भएको कार्यक्रममा शिक्षाविद् जर्ज जोन, प्रतिष्ठान कुलपति बिखर्ची, समीक्षक मदन भण्डारी, साहित्यकार एवं शिक्षासेवी क्षेत्रबहादुर कुँवर, कलाप्रेमी रामदेवी कुँवर, पत्रकार विजय नेपाल, अम्बिका राणालगायतले अलौकिक कवि कुँवरको बहुआयामिक क्षेत्रको चर्चा गर्नुभएकाे थियाे । समाजसेवी कृष्णबहादुर कुँवर, संचारकर्मी सुमन केसीले व्यवस्थापनमा सहयोग गर्नुभएकाे थियाे ।

मेघा एफएमका प्रबन्ध निर्देशक स्रष्टा कुँवर सम्पदा कला मन्दिर, पोखरा वाङ्मय प्रतिष्ठान, मुमताज मल्टिमिडिया, कुँवर राणा गार्डेन सोसाइटी, सिर्जनशीनल साहित्य परिवारमा हाल अध्यक्ष हुनुहुन्छ । २०४८ सालमा रेडियो नेपालको चौतारी कार्यक्रममा गायन प्रस्तुतसँगै सांगीतिक तथा साहित्यिक क्षेत्रमा हात हालेका कुँवरले गिनिज बुक वल्र्ड द रेकर्डमा समेत नाम लेखाउनुभएकाे छ । उहाँ हालै चितवनमा साहित्यिक राष्ट्रनायक उपाधिबाट सम्मानित हुनुभएकाे थियाे ।

बहुआयामिक प्रतिभाका धनी उहाँले साहित्यकार, नायक, गायक, संगीतकार, गीतकार, निर्देशक, मोडल, संचारउद्यमीको परिचय बनाउनुभएकाे छ । उहाँका हालसम्म साहित्यका दर्जनौं कृति प्रकाशनमा छन् भने २५० गीतमा स्वर तथा संगीत दिनुभएकाे छ । साथै १०८ कृति प्रकाशोन्मुख छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका