उद्योगी-व्यापारीलाई धम्क्याएर पैसा असुल्ने २ जना पक्राउ • Nepal's Trusted Digital Newspaperउद्योगी-व्यापारीलाई धम्क्याएर पैसा असुल्ने २ जना पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • उद्योगी-व्यापारीलाई धम्क्याएर पैसा असुल्ने २ जना पक्राउ

उद्योगी-व्यापारीलाई धम्क्याएर पैसा असुल्ने २ जना पक्राउ

  • समाचारपाटी
  • शनिबार, असार १८, २०७९
उद्योगी-व्यापारीलाई धम्क्याएर पैसा असुल्ने २ जना पक्राउ

किशेर बुढाथाेकी,विराटनगर । विराटनगरका उद्योगी-व्यापारीलाई धम्क्याएर पैसा असुल्ने गिरोहका २ जना  शुक्रबार  साँझ मोरङबाट पक्राउ परेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–६ घर भइ विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित एयरपोर्ट मोडमा बस्दै आएका ३९ वर्षीय गणेशकुमार कार्की र पथरीशनिश्चरे–६ हसनदहका २६ वर्षीय विशाल ऋषिदेवलाई पक्राउ गरिएको हो। धाकधम्की दिएर विराटनगर महानगरपालिका–३ का व्यापारी मुकेश शर्मासँग पैसा असुलेको पत्ता लागेपछि कार्की र ऋषिदेवलाई पक्राउ गरिएको उहाँले बताउनुभयाे।

शर्माको विराटनगरको तीनपैनीमा मुकेश अगरबत्ती उद्योग छ। डीएसपी श्रेष्ठका अनुसार पक्राउ परेकाहरुले बारम्बार धम्कीपूर्ण पत्र पठाएर र फोनमार्फत शर्मासँग ५ लाख रूपैयाँ मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। १० दिनअघिदेखि ५ लाखबाट ‘डिल’ गर्न थालेको गिरोहले शर्मासँग २५ हजार रूपैयाँ पनि लिइसकेको उहाँले बताउनुभयाे।

पैसा माग गर्दै आफूमाथि बारम्बार धम्की आउन थालेपछि शर्माले प्रहरीलाई घटनाको जानकारी गराउनुभयाे। धम्कीका कारण डराउनुभएका उहाँले ऋषिदेवको नाममा शुक्रबार २५ हजार रूपैयाँ आईएमई गरेर पठाउनुभएकाे थियाे। शर्माले पठाएको पैसा आईएमईबाट निकाल्दै गर्दा ऋषिदेवलाई प्रहरीले हसनदहदेखि पक्राउ गरेको हो। त्यसलगत्तै कार्कीलाई विराटनगरबाट पक्राउ गरिएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयाे।

उहाँका अनुसार व्यापारीलाई धम्क्याउने र पैसाको ‘डिल’ गर्ने कामको नेतृत्व कार्कीले गर्दै आएकाे र प्रहरीले पैसा माग गरिएको पत्र, आईएमईमा पैसा पठाएको र निकालेको कागज लगायतका प्रमाण सुरक्षित गरेको छ। पक्राउ परेकाविरुद्ध प्रहरीले ठगी तथा अपराधिक लाभअन्तर्गत मुद्दा चलाउने भएको छ। डीएसपी श्रेष्ठले शनिबार सार्वजनिक बिदा परेका कारण कार्की र ऋषिदेवविरुद्ध आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने जानकारी दिनुभयाे।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका