विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा सशस्त्र प्रहरी बलले खटायो उद्धार टोली • Nepal's Trusted Digital Newspaperविपद् व्यवस्थापनका लागि सातै प्रदेशमा सशस्त्र प्रहरी बलले खटायो उद्धार टोली • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा सशस्त्र प्रहरी बलले खटायो उद्धार टोली

विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा सशस्त्र प्रहरी बलले खटायो उद्धार टोली

  • समाचारपाटी
  • बुधबार, असार १५, २०७९
विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा सशस्त्र प्रहरी बलले  खटायो उद्धार टोली

काठमान्डौं । विपद् व्यवस्थापनका लागि तालिम प्राप्त २०३४ जनशक्तिलाई सशस्त्र प्रहरी बलले देशभर खटाएको छ । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा विपद व्यवस्थापनको विशिष्टकृत तालिम लिएका ती जनशक्तिलाई सशस्त्र प्रहरीले मनसुनजन्य विपद्को प्रतिकार्यका लागि परिचालन गरेको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विदुर खड्काका अनुसार विपद् व्यवस्थापनका लागि तालिम प्राप्त जनशक्तिलाई काठमान्डौं उपत्यकाभित्र दुई स्थानमा राखिएको छ । त्यसबाहेक ७ वटै प्रदेशमा प्रदेश स्तरीय विपद् उद्धार टिम खटाइएको उहाँले बताउनुभयाे ।

खड्काका अनुसार १० स्थानमा दक्ष तालिम प्राप्त जनशक्ति परिचालन गरेर तयारी अवस्थामा राखिएको छ । यसरी खटाइएकामध्ये ५६ जना गोताखोरको तालिम प्राप्त जनशक्ति छन् ।

‘विभिन्न क्षेत्रमा उत्पन्न हुनसक्ने प्रकोपको समयमा उद्धार गर्नका लागि उनीहरुलाई प्रदेश १ को सुनसरी, बागमतीको कुरिनटार, काठमान्डौं उपत्यका, गण्डकी प्रदेशको पोखरा, लुम्बिनीको शमशेरगञ्ज र सुदूपश्चिमको कैलालीमा गरी ६ स्थानमा तयारी अवस्थामा राखिएको छ’ खड्काले भन्नुभयाे ।

यसबाहेक सशस्त्र प्रहरीका हरेक युनिटमा जल उत्पन्न प्रकोपको प्रतिकार्यका लागि खोज तथा उद्धारका आधारभूत उपकरणसहित २४ सै घन्टा उद्धार टोली तयारी अवस्थामा रहने व्यवस्था गरिएको खड्काले बताउनुभयाे ।

उद्धारका लागि आवश्यक आधुनिक सामग्रीलाई प्रदेश स्तरीय विपद् उद्धार टिमले प्रयोग गर्ने गरी राखिएको छ । उपत्यकामा सिनामंगलस्थित २० नं. गणमा राखिएको खड्काले बताउनुभयाे ।

विशिष्टकृत तालिम नलिएका सशस्त्र प्रहरी कर्मचारीलाई पनि मनसुन लक्षित उद्धारका लागि समसामयिक विषयवस्तुमा अनुशिक्षण तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र प्रादेशिक आपतकालीन कार्य सञ्चालन केन्द्र तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रहरुमा पनि आवश्यकता अनुसार तथा तालिम प्राप्त कर्मचारीहरु परिचालन गरिएको खड्काले बताउनुभयाे ।

विभिन्न युनिटमा आवश्यकता अनुसार हेभी इक्युपमेन्टहरु पनि तयारी अवस्थामा राखिएका छन्’ उहाँले भन्नुभयाे, ‘जिल्लागत रुपमा जोखिमयुक्त इलाका, स्थान, वस्ती लगायत अन्य महत्वपूर्ण संरचनाहरु पुल, राजमार्ग, लोकमार्ग लगायतको पहिचान गरेर राखिएको छ, जोखिमयुक्त समुदायलाई स्थानान्तरण गर्न परे तत्काल गर्न सकिने गरी योजना बनाइएको छ ।’

पानीजन्य विपद् उद्धारका लागि २४ वटा युनिटबाट २६ जिल्लामा रेस्क्यू बोट र १० वटा जिल्लामा १० वटा मोटरबोट राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

विपद् जोखिम व्यवस्थापन प्राधिकरणले यसवर्षको मनसुनमा २० लाख जनसंख्या प्रभावित हुनसक्ने प्रक्षेपण गरेको छ । जिल्लागत र प्रदेशगत रुपमा गरिएको अध्ययन अनुसार लगभग २० लाख जनसंख्या र ४ लाख २१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँनुहुन्छ ।

प्राधिकरणका अनुसार प्रदेश १ मा मात्रै ५ लाख ७० हजार, मधेशमा ४ लाख ६५ हजार, बाग्मतीमा १ लाख ४६ हजार, गण्डकीमा १ लाख १९ हजार, लुम्बिनीमा ३ लाख ७९ हजार, कर्णालीमा ५ लाख ४९ हजार र सुदूपश्चिममा २ लाख ६३ हजार जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।

यस वर्ष २२ जेठमा मनसुन भित्रिएको छ र जल तथा मौसम विज्ञान विभागले यो वर्ष सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको प्रक्षेपण गरेको छ । नेपालमा वर्षभरिमा हुने वर्षाको करिब ८० प्रतिशत असार, साउन, भदौ र असोज गरी चार महिनामा हुने गर्छ ।

 

source:- onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका