छैटौं संस्करणको पोखरा स्पोटर्स अवार्डको मनोनयन सार्वजनिक • Nepal's Trusted Digital Newspaperछैटौं संस्करणको पोखरा स्पोटर्स अवार्डको मनोनयन सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • छैटौं संस्करणको पोखरा स्पोटर्स अवार्डको मनोनयन सार्वजनिक

छैटौं संस्करणको पोखरा स्पोटर्स अवार्डको मनोनयन सार्वजनिक

  • समाचारपाटी
  • शनिबार, असार ११, २०७९
छैटौं संस्करणको पोखरा स्पोटर्स अवार्डको मनोनयन सार्वजनिक

पोखरा । असार १८ गते पोखरामा आयोजना हुन लागेको छैटौं संस्करणको पोखरा स्पोटर्स अवार्ड २०७८ को मनोनयन सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर चार बिधाका उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरेको हो ।

जस अनुसार वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदिप खड्का उत्कृष्ट तीनमा पर्न सफल हुनुभएकाे छ । वर्ष खेलाडी महिलामा भलिवलकी अरुणा शाही, क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाल उत्कृष्ट तीनमा पर्नुभएकाे छ ।

उदियमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बु उत्कृष्ट तीनमा छानिनुभएकाे छ । उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका निरज थापा उत्कृष्ट तीनमा पर्न सफल भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयाे ।

पोखरा स्पोर्टस् अवार्डमा प्रतिभा छनोट गर्न मञ्चले प्रतिभा छनौट उपसमिति गठन गरेको थियो । मञ्चका पूर्व अध्यक्ष विनोद लामिछानेको संयोजकत्वमा गठित समितिको सह–संयोजकमा सन्देश श्रेष्ठ र सदस्यमा विजय नेपाल रहेका थिए । समितिले छनोट गरेकामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षक विधामा उत्कृष्ट ३ मनोनयन सूची सार्वजनिक गरिएको हो । कुल सात विधामा अवार्ड वितरण गरिनेमा लाइफ टाइम अचिम्मेन्ट अवार्ड, उत्कृष्ट खेलसंघ र उत्कृष्ट पत्रकारिता विधाको अवार्डको घोषणा पछि सार्वनजनिक गर्ने महासचिव पौडेलले जनाउनुभयाे ।

पोखरा स्पोर्टस् अर्वाड अन्तरगत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताउनुभयाे । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, सहारा क्लब पोखरा, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, चिल्लिबार एण्ड रेष्टुरेन्ट लगायतले सहयोग गरेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मञ्चका पूर्व अध्यक्ष एवं प्रतिभा छनोट समितिका संयोजक विनोद लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजारामा पौडेलले स्पोर्टस् अवार्डको बारेमा बोल्नुभएकाे थियाे ।

अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिइएको मञ्चले जनाएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका