भूकम्प गएपछि खाने बस्ने ठाउँ छैन अफगानिस्तानमा • Nepal's Trusted Digital Newspaperभूकम्प गएपछि खाने बस्ने ठाउँ छैन अफगानिस्तानमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भूकम्प गएपछि खाने बस्ने ठाउँ छैन अफगानिस्तानमा

भूकम्प गएपछि खाने बस्ने ठाउँ छैन अफगानिस्तानमा

  • समाचारपाटी
  • शुक्रबार, असार १०, २०७९
भूकम्प गएपछि खाने बस्ने ठाउँ छैन अफगानिस्तानमा

अफगानिस्तानमा दुई दशकयता आएको सबैभन्दा विध्वंसकारी भूकम्पबाट बच्न सफल भएकाहरूले आफूहरूसँग खान र बस्नका लागि केही नभएको तथा सम्भावित हैजाको प्रकोपको डर लागेको बताएका छन् ।

आफ्नो घरको बाँकी रहेको भग्नावशेषमा सामानहरू खोज्दा आगा जानका आँखा रसाउँछन् । “यी मेरा छोराका जुत्ता थिए,” धूलो टक्टक्याउँदै उहाँ भन्नुहुन्छ । उहाँका तीन साना छोराछोरी र दुई श्रीमतीले सुतिरहेको बेला भूकम्पमा परी ज्यान गुमाएका थिए ।

बुधवार बिहान भूकम्पको धक्का महसुस भएपछि आगा जान आफ्नो परिवार बसेको कोठातर्फ हतारिँदै पुग्नुभयाे । “तर सबैकुरा भग्नावशेषमा पुरिएका थिए,” उहाँले भन्नुभयाे ।

“त्यहाँ मेरो बेल्चा पनि पुरिएको थियो । मैले गर्न सक्ने केही थिएन । मैले सहयोगको लागि मेरा भतिजाहरूलाई बोलाएँ । हामीले मेरा परिवारजनलाई बाहिर निकाल्दा उनीहरू जीवित थिएनन् ।”

सबैभन्दा बढी प्रभावित
आगा जानको गाउँ वरपरको क्षेत्र पाक्तिका प्रान्तको बर्माल जिल्ला भूकम्पबाट सबैभन्दा बढी प्रभावितमध्येको एक हो । त्यहाँ झन्डै एक हजार मानिसको ज्यान गएको र तीन हजारभन्दा बढी घाइते भएको अनुमान गरिएको छ ।

यहाँ आइपुग्न पुग्न नजिकैको ठूलो सहरबाट गाडीमा तीन घण्टाको लाग्छ । प्रायः सडकहरूमा खराब छन् र दुर्गम स्थान भएकाले घाइतेहरूलाई उपचारका लागि लैजान पनि निकै असहज हुन्छ । यहाँबाट कतिपयलाई तालिबानको सैन्य हेलिकप्टरबाट अस्पताल लगिएको थियो ।

सामान्यतया माटो र ढुङ्गाबाट बनेका गाउँका प्रायः सबै घर नराम्ररी क्षतिग्रस्त भएको देखिन्छ । लगभग हरेक परिवार आफन्त गुमाएको शोकमा छन् ।

भूकम्प आएको सुन्दा हबिब गुल पाकिस्तानी सहर कराचीमा मजदुरको रूपमा काम गर्दै हुनुहुन्थ्याे । भूकम्पमा उहाँले २० जना आफन्त गुमाउनुभयाे त्यसमध्ये १८ जना त एकै परिवारका थिए । उहाँ अहिले आफ्नो गाउँ बर्माल फर्किनुभएकाे छ ।

“कसको नाम लिनु ? मेरा धेरै आफन्तहरू, तीन दिदीबहिनी, मेरी भाञ्जी, मेरी छोरी, साना केटाकेटीहरू शहीद भए ।”

हामीले भेटेका प्रत्येक गाउँले हामीलाई उनीहरूको घरको विनाश देखाउन चाहन्छन् । आंशिक रूपमा किन पनि हो भने– उनीहरू संसारले त्यो विनाश हेरोस् भन्ने चाहन्छन् । तर व्यवहारिक रूपमा हेर्ने हो भने उनीहरू आफ्नो नाम पनि सहायता पाउनेको सूचीमा चढोस् भन्ने चाहन्छन् ।

हबिब गुलले भन्नुभयाे, “यदि संसारले हामीलाई दाजुभाइको रूपमा हेर्छ र हामीलाई मद्दत गर्छ भने हामी यहाँ हाम्रो भूमिमा बस्नेछौँ ।”

“यदि उहाँहरूले त्यसो गर्दैनन् भने हामी यो ठाउँ छोड्नेछौँ । यहाँ हामीले हाम्रो आँखामा आँसुसहित लामो समय बिताएका छौँ ।”

यहाँको आकाशमा सैन्य हेलिकप्टरहरू घुम्छन् । तिनीहरूले अहिले घाइतेलाई उद्धार गरिरहेका छैनन् तर राहत वितरण गर्दैछन् । हामीलाई तालिबान अधिकारीहरूले उद्धार कार्य पूरा भएको बताउनुभयाे । सबैभन्दा ठूलो आवश्यकता भनेको घरबारविहीन भएका सयौँ परिवारका लागि आश्रयस्थलको हो । आगा जान र उहाँका बाँचेका छोरामध्ये एकजना खाली जमिनमा काठको डण्डी बीचमा त्रिपाल टाँगेर बसिरहेका छन् ।

अन्य परिवारहरू पनि पालमुनि छन् र उनीहरूले धेरै मेहनत गरेर बनाएका घरहरूको अवशेष बनेका छन् ।

जिम्मेवारी
खालिद जानको काँधमा अब आफ्ना पाँच नातिनातिनाको जिम्मेवारी आइलागेको छ । उनीहरूका पिता तथा खालिद जानका छोरा अन्य दुईजना छोराछोरीसहित भूकम्पमा मारिए ।

“उनीहरूका लागि सबै म नै हुँ,” पालमुनि एउटा परम्परागत फलामको खाटमा बसेका उहाँले भन्नुभयाे । “तर घर र सबैकुरा ध्वस्त भएको छ र म यसलाई कहिल्यै पुनर्निर्माण गर्न सक्ने छैन ।” अफगान र अन्तर्राष्ट्रिय सहायता एजेन्सीहरूले क्षतिको मूल्याङ्कन गर्दैछन् ।

उनीहरूले राहत वितरण गरिरहेका छन् तर पहिले नै गम्भीर मानवीय सङ्कटसँग जुझिरहेको देशमा यो ठूलो नयाँ सङ्कट हो । पीडितहरूलाई सहयोग गरिरहेको संयुक्त राष्ट्र सङ्घले हैजाको प्रकोपको सम्भावित जोखिमको चेतावनी दिइरहेको छ ।

हबिब गुलको गाउँमा पुरुषहरू मृतकको सम्झनामा प्रार्थना गर्न भेला भएका छन् । झण्डै २५० जनसंख्यामध्ये लगभग ५० जना मारिएका छन् । तर अब ध्यान बाँचेकातर्फ जानुपर्ने र कसरी छिटो सहायता पुग्छ भन्नेमा केन्द्रित हुनुपर्ने देखिन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका