पोखरा । सहारा क्लब पोखराले छैटौं संस्करणको पोखरा स्पोटर्स अवार्ड २०७८ लाई सघाउने भएको छ । बिहिबार सहारा क्लब पोखराका अध्यक्ष हरीराम गुरुङ सुरज र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल बीच सम्झौता आदान प्रदान भएकाे छ । सम्झौता अनुसार सहाराले पोखरा स्पोटर्स अवार्ड अन्तर्गत उदीयमान खेलाडीको पुरस्कार प्रायोजन गर्ने भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयाे । उदीयमान खेलाडीको पुरस्कार नगद ३५ हजार रुपैयाँ रहेको छ ।
विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर असार १८ गते पोखरा उद्योग वाणिज्य संघको हलमा हुने पोखरा स्पोटर्स अवार्ड २०७८ कार्यक्रम मार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्चका महासचिव पौडेलले बताउनुभयाे । मञ्चले अवार्ड कार्यक्रमको तयारीलाई तिव्रता दिएको छ ।
यसैबिच सहारा क्लब पोखरा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका बीचमा ओलम्पिक दिवसको अवसर पारेर बिहिबार मैत्रीपूर्ण फुटबल प्रतियोगीता समेत आयोजना गरिएकाे छ । सहारा फुटवल एकेडेमी दोविल्लामा आयोजना भएको प्रतियोगीता १–१ को बराबरीमा सम्पन्न भयो । खेलमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तर्फबाट टिम क्याप्टेन सुरज श्रेष्ठ र सहारा क्लबको तर्फबाट राजु हमालले गोल गर्नुभएकाे थियाे ।
एन्फा कास्कीका अध्यक्ष उज्वल रन्जितले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेको प्रतियोगीतामा ओलम्पिक दिवसको बारेमा स्पोटर्स फर अल कमिटि गण्डकीका अध्यक्ष खड्ग बहादुर रानाभाटले प्रकाश पार्नुभएकाे थियाे । ओलम्पिक दिवस २३ जुनमा विभिन्न कार्यक्रमको आयोजना गरेर विश्वभर मनाइन्छ ।