काठमान्डौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताउनुभएकाे छ । बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उहाँले सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताउनुभएकाे हाे ।
‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिन । बरु सरकारले एक बर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक बर्ष जेल जान तयार छु’ उहाँले भन्नुभयाे ।
सरकारले बागमती र गण्डकी प्रदेशमा नयाँ दर्ता हुने र नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ । तर इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर रहेको, इम्बोस्ड नम्बर प्लेट बनाउने कम्पनीसँग आर्थिक लेनदेनमा जबर्जस्ती जडान गराउन खोजेको भन्दै विरोध भइरहेको छ ।