गहन छलफल गर्नुपर्ने र ठूलो ठाउँ नहुँदा रिसोर्टमा बैठक : आचार्य
पोखरा महानगरपालिकाले पोखरा लेकसाइडस्थित टीका रिसोर्टमा कार्यपालिका बैठक राखेर गएराति १ बजे नीति तथा कार्यक्रम पारित गरेको छ । महानगरको आफ्नो हल हुँदा हुँदै रिसोर्टमा कार्यपालिका बैठक बस्नुपर्ने आफूहरुको बाध्यता भएको मेयर धनराज आचार्यले स्पष्टीकरण दिनुभएकाे छ । पोखरा महानगरभित्र सेवाग्राहीको चाप, छोटो समयमा रातभर नसुतेरै पनि गृहकार्य गर्नुपर्ने भएकाले रिसोर्टमा बैठक राख्नुपरेको मेयर आचार्यको भनाइ छ ।
पोखरा महानगरको आफ्नै सभाहल हुँदा हुँदै रिसोर्टमा कार्यपालिका बैठक राखिएको समाचार बाहिएरसँगै आलोचना बढेको थियो ।
१८ घन्टासम्म आफूहरुले गृहकार्य गर्नुपर्ने भएकाले रहरभन्दा पनि गहन छलफल र उत्कृष्ट कार्यक्रम बनाउन गरिएको बैठकका रुपमा बुझिदिन आचार्यले आग्रह गर्नुभएकाे छ । ‘वैशाख १५ बाट बजेटको निर्माण प्रक्रिया सुरु हुन्थ्यो र असार १० गते सकिन्थ्यो । हामीले बजेट निर्माणका लागि सबै समिति गठन गर्नुपर्ने र समितिमा मिहीन छलफल गर्नुपर्ने भएकाले छोटो समयमा लगातार बैठक बस्नुपर्यो,’ मेयर आचार्यले भन्नुभयाे, ‘हामी रिसोर्टमा बसेका होइनौं । रातिसम्म छलफल गरेर नीति तथा कार्यक्रम पारित गरेर निस्किएका हौं । ५ बजेपछि पालिकाभित्रै सबै कर्मचारी राखेर बैठक नराखौं, एकान्त र उपयुक्त ठाउँ खोजौं भनेका हौं ।’
कतिपय योजनाका कारण कार्यालयमा बैठक बस्दा धेरै नै दबाब हुने मेयर आचार्यको भनाइ थियो । ‘एक ढंगले गोप्य बैठक गरेका हौं । अन्य सरकारी ठाउँको पनि खोजी गरेका हौं, विकल्प नपाएपछि रिसोर्टमा बैठक राखेका हौं,’ मेयर आचार्यले भन्नुभयाे, ‘रातभर काम गर्दा खाना खान पनि कता जाने भनेर एकान्त होटलमा गएका हौं ।’