किशेर बुढाथाेकी, विराटनगर । हतियार र लागुऔषधसहित सुनसरीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–३ का १९ वर्षीय रोहित राईलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
उहाँलाई कोसी गाउँपालिका–२ बाट कटुवा पेस्तोल र लागुऔषधसहित पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिनुभयाे ।
विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरेर पेस्तोल, गोलीको खोका तथा लागुऔषध डाइजापाम र नाइट्रोसन १०÷१० एम्पुल एवं लुपिजेसिक ३ एम्पुल र ट्रामाडोल ३ हजार ३ सय ७५ पिससहित राईलाई पक्राउ गरिएको थापाको भनाइ छ ।
प्रहरीले राईविरुद्ध हातहतियार खरखजना र लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।
राईले भारतबाट हतियार र लागुऔषध लिएर आएको हुनसक्ने प्रहरीको आशंका छ । एसपी थापाले अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने जानकारी दिनुभयाे ।