सिर्सिया नदीमा बग्ने पानीको गुणस्तर मापन गरिने • Nepal's Trusted Digital Newspaperसिर्सिया नदीमा बग्ने पानीको गुणस्तर मापन गरिने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सिर्सिया नदीमा बग्ने पानीको गुणस्तर मापन गरिने

सिर्सिया नदीमा बग्ने पानीको गुणस्तर मापन गरिने

  • समाचारपाटी
  • शुक्रबार, असार ३, २०७९
सिर्सिया नदीमा बग्ने पानीको गुणस्तर मापन गरिने

वीरगञ्ज । औद्योगिक प्रदूषणको चपेटामा परेको सिर्सिया नदीमा बग्ने पानीको गुणस्तर मापन गरिने भएको छ । वातावरण विभागले नदीमा बग्ने पानीको गुणस्तर मापन गर्न लागेको हो ।

आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत एउटै नदीमा अवस्थित वातावरणीय प्रभाव अध्ययन स्वीकृत भएका उद्योग आयोजनाहरुको सञ्चालनबाट नदीको पारिस्थितिकीय प्राणालीमा पर्न सक्ने एकीकृत वातावरणीय असरको स्थलगत अध्ययन गर्न विभागले टोली खटाएको थियो ।

विभागबाट आएको ४ सदस्यीय टोली गुणस्तर परीक्षणका लागि विभिन्न १२ स्थानबाट सिर्सिया नदीको पानीको नमुना संकलन गरेर काठमाडौं फर्किएको छ । विभागको सूचना अधिकारी एवं वैज्ञानिक अधिकृत सरोजा अधिकारी नेतृत्वको टोलीले औराहा खोला, हुलास स्टिलको तल्लो भाग, डाबर नेपाल, परवानीपुरको पुल, ज्योति स्पिनिङ, मितेरी पुल लगायत १२ ठाउँबाट नमुना संकलन गरेको छ ।

सिर्सिया नदी : औद्योगिक प्रदूषणको एउटा ‘केस स्टडी’
औद्योगिक प्रदुषणको चपेटामा परेको सिर्सिया नदीमा बग्ने पानीको वास्तविक स्थितिबारे अध्ययन गर्न नमुना संकलन गरिएको विभागका वातावरण निरीक्षक राजेश्वर पौडेलले जानकारी दिनुभयाे । ‘सामान्य मान्छेले हेर्दा पनि सिर्सिया नदीमा औद्योगिक प्रदूषण देखिन्छ । पानीको स्थिति खराब छ । सन्तोषजनक छैन,’ उहाँले भन्नुभयाे, ‘प्रयोगशाला परीक्षणबाट पीएच भ्यालु, सीओडी, बिओडी, लगायत जाँच गरिन्छ ।’

जीतपुरसिमरा उपमहानगरको रामवन झाडीबाट बग्ने सिर्सिया नदी वीरगञ्ज हुँदै रक्सौलतर्फ जान्छ । बारा–पर्सा औद्योगिक क्षेत्रमा पर्ने उद्योगहरुले प्रदूषित पानी प्रशोधन नगरी सिधै यही नदीमा खसालिदिन्छन् । त्यसको असरका कारण सिर्सिया नदीमा कञ्चन पानीको साटो प्रदूषित कालो लेदो पानी बग्ने गरेको छ । नदीबाट दुर्गन्ध आउने गरेको छ । नदी आसपासका मानिसहरुमा विभिन्न रोगको संक्रमण समेत हुने गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका