काठमान्डौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले यसपटक ब्रिफकेस नफुटेरै बजेट सुन्न पाएको बताउनुभएकाे छ। संसदमा बजेटमाथि भइरहेको छलफलमा उहाँले अर्थमन्त्री जनार्दन शर्मालाई व्यंग्य गर्दै ब्रिफकेस नफुटेरै बजेट सुन्न पाएको बताउनुभएकाे हाे। ‘यसपटक ब्रिफकेस फुटेन, बजेट सुन्न पाइयो। कार्यान्वयनको पर्खाइमा छौं,’ उहाँले भन्नुभयाे।
उहाँले बजेट प्रचारमुखीमात्र भएको बताउनुभएकाे छ। ‘गत वर्ष उहाँले बजेट प्रस्तुत गर्दा जनार्दन शर्मा भएर पेश गर्नुभएको थियो कि प्रभाकर भएर? गत वर्ष स्वेतपत्रबाट बजेट प्रस्तुत गर्दा बजेटको विश्वसनियता, प्रचारात्मक, आकारमा काफी वृद्धि भएको भन्नुभएको थियो। आज उहाँले जुन बजेट प्रस्तुत गर्नुभयो, त्यसले उहाँको हिजोको कुरालाई प्रतिप्रश्न गरेको छ,’ उहाँले भन्नुभयाे, ‘आजको बजेटको आकार के भएको छ? बजेट कति प्रचारमुखी भएको छ? कति कार्यान्वयनमुखी भएको छ? हामीले यो कुरा भुल्न सक्दैनौं।’