काठमान्डौं । तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिको शव परिवारलाई बुझाइएको छ। पोखराबाट आइतबार बिहान जोमसोम उडेको तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइएको थियो। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि बिहीबार आफन्तको जिम्मा लगाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
दुर्घटनाग्रस्त विमानमा चालक दलका तीन र १९ यात्रु गरी २२ जना चढेका थिए। चालक दलमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयरहोस्टेस क्रिस्मी थापा थिए। तुल्सादेवी तामाङ, सुकुमाया तामाङ (धनुषा), राममाया तामाङ (काठमाडौं), मकरबहादुर तामाङ (धनुषा), रोजिना श्रेष्ठ (गोरखा), रश्मी श्रेष्ठ (गोरखा), रविना श्रेष्ठ (गोरखा), गणेशनारायण श्रेष्ठ (गोरखा), राजनकुमार गोले (धनुषा), पुरुषोत्तम गोले (धनुषा), इन्द्रबहादुर गोले (धनुषा), प्रकाश सुनुवार (ओखलढुंगा), बसन्त लामा (काठमाडौं) थिए। यस्तै, मेइक ग्रिट ग्राफ (जर्मनी), वी विल्नर (जर्मनी), भाइभावी बान्डेकर (भारत), अशोककुमार त्रिपाठी (भारत), धनुष त्रिपाठी (भारत) र ऋतिका त्रिपाठी (भारत) गरी १९ यात्रुको पनि मृत्यु भएको हो।
मन्त्रालयले सोमबार नै विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग समेत गठन गरेको थियाे। मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियाे। आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनुभएकाे छ।
समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा अझै पनि कुहिरो लागेको बताइएको छ। आइतबार मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान फेलापरेको थियो।