काठमान्डौँ । तारा एयरको वेपत्ता जहाज खोजीका लागि गएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको नर्सिङ गुम्बा भन्ने स्थानमा अवतरण गरेको छ ।
त्यहाँबाट नेपाली सेनाका १० जना र नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जनाको टोली मोबाइलको लोकेसन पत्ता लागेको तर्फ गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीले बताउनुभएकाे छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार पैदलयात्राबाट पनि सेना र प्रहरीको टोली पनि परिचालन गरिएको छ । काठमाडौंबाट हिमालयन रेस्क्युको टोली पनि पठाइएको छ ।
महाप्रवन्धक ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा टिटी लेक आसपासमा लोकेसन पत्ता लागेकाले खोजी त्यतै केन्द्रित गरिएको छ ।
विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले भन्नुभयाे ‘पाइलटको मोबाइलमा घण्टी गइरहेको छ, टिटी लेक वरपर खोजिरहेका छौं’ यसअघि स्थानीयले घाँसातिर ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर सूचना दिएपछि प्रहरी र स्थानीयको टोली त्यसतर्फ गएको थियो तर त्यहाँ जहाज फेला परेन ।