पाेखरा । हराइरहेको तारा एयरको जहाज खोज्न गएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको थासाङमा अवतरण भएको छ। थासाङबाट हिँडेर सो क्षेत्र पुग्न ५/६ घन्टा लाग्छ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको उक्त जहाज १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । उक्त जहाज जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेटमा म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो ।
पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको जहाज पोखराबाट उडेर लेतेपास नजिक पुगेपछि त्यसपछि जहाज सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।
तारा एयरको जहाजलमा १३ नेपाली,४ भारतीय र दुई जर्मन नागरिकसहित चालक दलका ३ सदस्य रहेको जोमसोम नागरिक उड्यन कार्यालले बताएको छ ।
तारा जहाज आउनुअघि सुमित एयरको जहाजले पहिलो उडान पूरा गरी दोस्रो उडान भर्दै जोमसोम आइपुगेको थियो । पोखराबाट तारा एयरले पहिलो उडान भर्दै मुस्ताङ आउने क्रममा अचानक म्याग्दी र मुस्ताङको सीमाक्षेत्रमा मौसम प्रतिकुल हुँदा जहाज अनियन्त्रित दिशाामा उडेको अनुमान गरिएको छ ।
दुर्घटनाक्षेत्र अनुमान गरिएको स्थानका स्थानीयले बताए अनुसार कालिगण्डकी नदीको बीच भाग हुँदै उड्नुपर्ने जहाज दिशाहिन अवस्थामा उडेकाले थासाङको नाउरिकोटमाथि धौलागिरि हिमाल र मानापाथी हिमालको फेद आसपासमा दुर्घटना भएको अनुमान गरिएको छ ।
प्रजिअ शर्माका अनुसार मौसम प्रतिकुलताका कारण दुर्घटना अनुमान गरिएको क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेकाले खोजी कार्य प्रभावित भएको छ । बिहान १२ बजे फिस्टेल एयरको हेली थासाङक्षेत्रमा गएपनि मौसमका कारण जोमसोममै फिर्किएकाे थियो ।
अहिले पुन दोस्रो पटक फिस्टेलको हेली दुर्घटना अनुमान गरिएकोक्षेत्रमा प्रस्थान गरेको जनाइएको छ ।
जहाज खोजीका लागि सूचना संकलन र माइकिङ गर्ने काम भइरहेको मुस्ताङ प्रशासनले जानकारी दिएको छ । प्रशासनका अनुसार जहाज खोजीका लागि नेपाली सेना,सशस्त्र प्रहरी , प्रहरी र सो क्षेत्रका स्थानीयलाई परिचालन गरिएको छ । जहाज खोज्नका लागि सुरक्षाका सबै युनिटलाई निर्देशान दिएको प्रजिअ शर्माले जानकारी दिनुभयाे ।
source:annapurna