राजविराज । शुक्रबार बिहानपख निस्सासिए जस्तो भएपछि छिन्नमस्ता गाउँपालिका-५ लोखरम भटोत्तरका महेन्द्र कामैत घरबाहिर निक्लिनुभयाे। धुवाँको मुस्लो चारैतिर फैलिएको थियो। दनदनी आगोको लप्का माथि-माथि उक्लिरहेको थियो। लामखुट्टे धपाउन उहाँकै गुहाली घरमा बालेको घुरबाट सल्किएको आगो चारैतिर फैलिंदा महेन्द्रसहित ६ जनाको घरमा क्षति पुगेको वडा अध्यक्ष जयप्रकाश ठाकुले बताउनुभएकाे छ।
आगलागीका कारण महेन्द्रसहित उहाँकै परिवारका सदस्यहरु शंकर कामैत, शत्रुघ्न कामैत र भरत कामैतको घरमा पूर्ण क्षति भएको छ। आगलागीबाट गाउँबस्तीलाई जोगाउन गाउँलेहरुले बेचन कामैत र शनिचर कामैतको घरसमेत भत्काएका छन्।
शंकरका अनुसार आगलागीमा २ खसी र २ बाख्रीको जलेर मृत्यु भएको छ। आगलागीका कारण घर र गोठसहित लत्ताकपडा, फर्निचर, अन्नपात, भाँडाकुँडा जल्दा साढे २३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
गुहाली घरबाट सल्केको आगो करिब ३ घन्टाको प्रयासपछि गाउँलेहरुले नियन्त्रणमा लिएका नवनिर्वाचित वडा अध्यक्ष जयप्रकाश ठाकुरले बताउनुभयाे। बारुणयन्त्र जाने बाटो नभएकाले पनि बढी क्षति भएको गाउँलेहरुको भनाइ थियो। गाउँको बाटो बनाउन यसअघि आएको ४६ लाख रुपैयाँको बजेट सदुपयोग नभएकाले मोटरसाइकल गुडाउनसमेत सम्सया रहेको वडा अध्यक्ष ठाकुरले बताउनुभयाे।
source:-annapurna