निर्वाचन परिणामलाई हारजितको रुपमा नहेर्न, आफ्नो समर्थकलाई विजय जुलुस नगर्न बालेनकाे अपील • Nepal's Trusted Digital Newspaperनिर्वाचन परिणामलाई हारजितको रुपमा नहेर्न, आफ्नो समर्थकलाई विजय जुलुस नगर्न बालेनकाे अपील • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • निर्वाचन परिणामलाई हारजितको रुपमा नहेर्न, आफ्नो समर्थकलाई विजय जुलुस नगर्न बालेनकाे अपील

निर्वाचन परिणामलाई हारजितको रुपमा नहेर्न, आफ्नो समर्थकलाई विजय जुलुस नगर्न बालेनकाे अपील

  • समाचारपाटी
  • बुधबार, जेष्ठ ११, २०७९
निर्वाचन परिणामलाई हारजितको रुपमा नहेर्न, आफ्नो समर्थकलाई विजय जुलुस नगर्न बालेनकाे अपील

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निर्वाचनको परिणामलाई जित–हारको रुपमा नहेर्न अपील गर्नुभएकाे छ ।

आफू निर्वाचित हुने सुनिश्चित भएपछि उहाँले फेसबुक पेजमार्फत एक वक्तव्य जारी गरी आफ्नो समर्थकहरूलाई विजय जुलुस नगर्न र त्यसकै नाममा विभिन्न जिल्लाबाट काठमाडौं नधाउन अपील गर्नुभएकाे हाे ।

‘जित-हारलाई मतगणना सकिएसँगै सकिदिऊँ । घोषणापत्रमा भएका कुराहरू लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला’ उहाँले वक्तव्यमा भन्नुभएकाे छ, ‘अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौं।’

उहाँले लेख्नुभएकाे छ, ‘स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौं भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नुभएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जित वा हार हुँदैन ।’

निर्वाचित हुनेले अरु प्रतिस्पर्धीको तुलनामा ज्याद मत ल्याए पनि बहुमत नल्याएको भन्दै उहाँले आफूलाई मतदान नगर्नेहरुको भावनामा समेत चोट नपर्ने गरी काम गर्ने प्रतिबद्धता गर्नुभएकाे छ । उहाँले महानगरको उन्नतिका लागि सबैसँग सहकार्यको आग्रह गर्नुभएकाे छ ।

‘मेरो स्वयंको पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरू बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनाेट गर्नुभएको छ’ वक्तव्यमा उहाँले भन्नुभएकाे छ, ‘हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनुपर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनुपर्छ ।’

ठाउँठाउँबाट विजय र्‍यालीका नाममा काठमाडौं आउने तयारी भएको सुनिएको भन्दै उहाँले काठमाडौं आउने ‘दुःख नगर्न’ आग्रह गर्नुभएकाे छ । उहाँले भन्नुभएकाे छ, ‘यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौं ।’

उहाँले बरु आ-आफ्नो ठाउँबाट धन्यवाद र्‍याली गर्न आग्रह गर्नुभएकाे छ । आफ्नो अभियानलाई उहाँले नेपालभरको अभियान बनाउन आग्रह गर्नुभएकाे छ ।

निर्वाचित भएदेखि आफ्नो वास्तविक परीक्षा सुरु भएको भन्दै उहाँले आफ्नो कामकारबाहीलाई खबरदारी गर्न आग्रह गर्नुभएकाे छ । उहाँले भन्नुभएकाे छ, ‘अबको हाम्रो पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडि बढौं।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका