व्यापारिक समूहलाई प्राकृतिक तथा सांस्कृतिक सम्पदा सुम्पिने, व्यावसायीकै स्वार्थअनुसार नीति बनाउनेजस्ता काम भए भनेर पोखरामा यसअघि निकै विरोध पनि भए, व्यापारिक स्वार्थकै कारण ठूलो राजश्व पनि महानगरबाट गुमिरहेको छ, तपाईं त झन् व्यापारिक पृष्ठभूमिकै मान्छे !
पाेखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले भन्नुहुन्छ,’ मेयर भएपछि मैले पहिलो पटक यो अन्तर्वार्ता दिएको छु र यसैलाई आधार मानेर भोलिका दिनमा प्रश्न सोध्नुहोला । म विधिभन्दा बाहिर गएर एउटा पनि काम गर्ने छैन । यो मेरो निष्ठाको कुरा पनि हो । लौरो चुनाव चिह्न लिएर मेयरमा उठ्नुभएका स्वतन्त्र उम्मेदवार गनेस पौडेललाई पनि मैले भनेको थिएँ, त्यो लौरो लिएर महानगरको गेट बाहिर उभिनुस् र त्यो लौरो मिडियालाई पनि दिनुस्, हरेक महिना हामीलाई खबरदारी गर्नुस् ।’
गोप्य, अदृश्य खालका कुनै पनि सम्झौता गर्दैनौं । सार्वजनिक सरोकारका विषयलाई अँध्यारो कोठामा बसेर हस्ताक्षर गर्ने छैनौं । यो पाँच वर्ष हामी कसरी जान्छौं भनेर एक महिनाभित्रै उपमेयर, वडाध्यक्षहरुसहित क्लोज क्याम्प पनि गर्छौं । अबको पाँच वर्ष पोखरा महानगर कसरी चल्छ भन्ने स्पष्ट भिजनका साथ अगाडि बढ्छौं ।’
”हो, म निजी क्षेत्रबाटै काम गरेर आएको हुँ । यहाँ व्यापारी भन्नेबित्तिकै कालाबजारी हुन्, बदमास हुन् भन्नेमात्रै सोंचाइ छ । त्यस्तो होइन । यो समाज बनाउन निजी क्षेत्रको ठूलो योगदान छ । बुद्ध, यती लगायतका एयरलाइन्स नभएको भए नेपाल एयरलाइन्सले मात्र धान्न सक्थ्यो ? यतिका धेरै हस्पिटल र नर्सिङ होम नभएको भए गण्डकी हस्पिटलले मात्र धान्न सक्थ्यो ? यतिका धेरै निजी स्कुल तथा क्याम्पस नभएको भए पोखराका सरकारीले मात्र धान्न सक्थ्यो ? त्यसैले व्यापारी भन्नेबित्तिकै बायस हुन जरुरी छैन । हामी निजी क्षेत्रका समस्या बुझेर पोखरा नबिग्रने गरी काम गर्छौं, निजी क्षेत्रबाट पनि त्यस्तै सहयोगको अपेक्षा राख्छौं ।”
फेवाताल लगायतका तालहरुका मापदण्डका विषय पनि छन् नि !
‘फेवातालका सन्दर्भमा सयौं प्रश्नहरु अनुत्तरित छन् । यी सबै प्रश्नहरुको उत्तर दुई वर्षभित्र दिइसक्छौं । फेरि प्रश्न सोध्न नपर्ने गरी टुंग्याउँछौं ।’
अबको पाँच वर्षपछि तपाईंले परिकल्पना गरेको पोखरा कस्तो हो त ?
‘मानिसको जीवनस्तर उकास्ने र पोखरेलीको भान्छा कसरी सस्तो बनाउने भन्ने हाम्रो पहिलो प्राथमिकता हुन्छ । सहज ढंगले बाँच्नका लागि चाहिने आवश्यकता पूरा गर्नतिर लाग्ने छौं ।’
‘पाँच वर्षमा पुग्दा आयातलाई प्रतिस्थापन गर्ने भनेका छौं । अल्पकालीन र दीर्घकालीन योजना बनाउँछौं । पाँच वर्षपछि पोखरा सुन्दर भएको देख्छौं, हरियाली देख्छौं । सफा देख्छौं । त्यो सँगसँगै हाम्रा सम्पदाहरु व्यवस्थित भएका हुनेछन् । पोखरा महानगरपालिका सिस्टममा चलेको हुनेछ, कुनै पनि काम गर्न जाँदा रेकर्ड तुरुन्त पाइने हुने छ । बिगतमा भएका कमी कमजोरी हटाउँछौं ।’
‘अहिलेको महानगरको कार्यालयले नधान्ने भएकाले पाँच वर्षभित्रै महानगरको अर्को नयाँ भवन हुने छ । पोखरा महानगरका जुनसुकै ठाउँमा मानिसले महानगरको सुविधाको महसुस गर्ने छन् । संघ, प्रदेश र पोखरा महानगरले सहकार्यमा काम गरिरहेको हुने छ ।”
‘पोखराको बसपार्कलाई सिटी बसपार्क बनाउँछौं । त्यहाँको सुकुम्वासी समस्या समाधान गर्छौं । सबै वडाहरुमा बेलुका ६ बजे पनि गाडी चल्ने बनाउँछौं । तनहुँ, बागलुङ र स्याङ्जातिरबाट प्रवेश गरेदेखि नै वाउ पोखरा ! भन्ने बनाउँछौं । विशेष ढंगले सौन्दर्यीकरण गर्छौं ।’
‘लामे आहालमा मुख्य बसपार्क बनाउने यसअघि नै निर्णय भइसकेको छ । त्यसको नजिकै अटो भिलेज पनि बनाउँछौं । पोखरामा जति पनि वर्कसपहरु छन्, व्यवस्थित रुपमा राख्छौं । रिङरोडको विषय पनि टुंगो लागिसकेको हुन्छ । लेखेर राख्नुस्, साँच्चिकै वाह ! पोखरा हुने छ । हिजोको कथा दोहोरिन हामी दिन्नौं ।’
source:-onlinekhabar