पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका आचार्य र उपमेयरमा एमालेकी गुरुङ विजयी • Nepal's Trusted Digital Newspaperपोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका आचार्य र उपमेयरमा एमालेकी गुरुङ विजयी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका आचार्य र उपमेयरमा एमालेकी गुरुङ विजयी

पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका आचार्य र उपमेयरमा एमालेकी गुरुङ विजयी

  • समाचारपाटी
  • बुधबार, जेष्ठ ११, २०७९
पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका आचार्य र उपमेयरमा एमालेकी गुरुङ विजयी
photosource:-himalkhabar

पाेखरा । नेकपा एमालेबाट फुटेर बनेको नेकपा एसमा जाँदै धनराजलाई उक्त पार्टीले पोखराको मेयर दाबी गर्दा उहाँलाई नै उम्मेदवारको रुपमा हेरिएको थियो। तर पोखरामा खास उपस्थिति देखाउन नसकेको एसबाट मेयर भएपनि जित्न कठिन हुन्छ भन्ने तर्क गर्नेहरु थिए। थप तर्क थियो—गठबन्धनको ठूलो पार्टी कांग्रेसको मेयर उम्मेदवार नहुँदा एमालेले जित्न सजिलो भयो। मेयर धनराज आचार्यले भने उम्मेदवारी दर्ताअघि नै भन्नुभएकाे थियाे, ‘हामीले जित्ने भनेकै एमालेको पनि मत लिएर हो, एमालेमा हाम्रो अंश पनि छ, हंस पनि छ।’ नभन्दै धनराज आचार्य एमालेको समेत मत लिएर पोखराको मेयर निर्वाचित हुन सफल हुनुभएकाे छ। मंगलबार राति अबेरसम्म २ हजार मत गन्न बाँकी छँदा प्रतिस्पर्धी कृष्ण थापाभन्दा झन्डै ५ हजार मत बढी ल्याउनुभएकाे थियाे। थापाको झन्डै ४९ हजार मत आउँदा आचार्यले भने ५३ हजार कटाउनुभएकाे थियाे। पूरै परिणाम नआउँदै आचार्यको जित सुनिश्चित भयो। निर्वाचन अधिकृतको कार्यालयबाट सार्वजनिक अन्तिम मतपरिणाम अनुसार आचार्यले ५८ हजार ८ सय ९३ मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी थापाले ५२ हजार ८ सय ४८ मत ल्याउनुभएकाे थियाे।

नयाँनयाँ खुलेको पार्टीबाट उम्मेदवार भएर भूगोलका आधारमा देशकै ठूलो महानगरपालिकाको मेयरमा निर्वाचित हुनुले उहाँलाई कुशल र कुटिल राजनीतिक खेलाडी सावित गरिदिएको छ। एकथरीका लागि उहाँको विजय चामत्कारिक पनि भएको छ। मतदाता माझ क्यारेस्मेटिक उम्मेदवारको झल्को दिन सफल भएरै उहाँले त्यो चात्मकारिक नतिजा निकालिदिनुभएकाे छ।

एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले उपमेयर जित्दा पनि आचार्यले मेयरमा बाजी मार्नुभयाे। एमालेका मेयर उम्मेदवार कृष्ण थापाले उपमेयरमा मञ्जुले पाए जति मत ल्याउन नसक्दा हार बेहोर्नुभयाे। मञ्जुलाई उपमेयरमा मत दिएकाले पनि मेयरमा आचार्यलाई रोजेका छन्। आफैले भनेजस्तो एमालेको अंश (मत) पाएरै आचार्य विजयी हुनुभयाे। उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट पराजित हुँदा पनि धनराजले विजय पाउनुबाटै उहाँले एमालेको पनि मत तानेर जित्न सफल भएको प्रष्ट हुन्छ।

अंश र हंस लिने रणनीति अनुसारै आचार्यले चुनाव प्रचारका क्रममा एमालेलाई कतै गाली गर्नुभएन। आचार्य एमाले नै छँदा पहिलाको चुनावमा एमालेका मेयर उम्मेदवारको घोषणापत्र लेखन टिममा हुनुहुन्थ्याे। उहाँले चुनाव दौरान भन्नुभयाे, ‘त्यही घोषणापत्रका राम्रा काम अझै पनि कार्यान्वयन गर्न बाँकी छन्, हामी गर्छौं।’

एमालेका तत्कालीन चर्चित नेता रवीन्द्र अधिकारीका सहपाठीमात्रै होइन, उहाँको हरेक जसो निर्वाचनमा चुनावी कमाण्डर हुनुहुन्थ्याे आचार्य। प्रभावशाली मतदातालाई आफै फोन गर्ने, खास समुदाय र समूहका अगुवालाई भेटेरै कुरा गर्ने र प्रविधिको भरपुर प्रयोग गर्ने रवीन्द्रको शैली धनराज आफैले यसपालि प्रयोग गर्नुभएकाे थियाे। भाषण गर्दा तथ्य र तथ्यांकसहित बोल्ने र जुन ठाउँका मतदाता हुन् तिनलाई सम्बोधन गर्ने तरिका पनि धनराजले अपनाउनुभयाे। सार्वजनिक मञ्चका बहस र कतिपय मन्तव्य युवा र तटस्थ मत तान्न काफी सहयोगी बन्याे।

खासमा धनराजलाई एमाले फुटेर नेकपा एस बन्नुले पनि अवसर प्रदान गर्‍यो। एमालेबाट उहाँले मेयर उम्मेदवार बन्ने मौका पाउन मुस्किल हुन्थ्यो। एमालेभित्र खास ठूलो जिम्मेवारीमा पनि थिएन। एमाले अध्यक्ष केपी ओली आफ्नै खल्तीका व्यक्तिलाई टिकट दिनुहुन्छ भन्ने ओपन सेक्रेटै थियो। त्यसमाथि माधव नेपालसँग धनराजको खास सम्बन्ध पनि थियो। धनराजको सट्टा नेकपा एसबाट अरुले टिकट पाएका भए माधव नेपालको नाक जोगाइदिने गरी पोखरा महानगरपालिकामा मेयर जित्न कठिन पनि हुन्थ्यो। जिल्ला नेतृत्व नै लिएर नयाँ पार्टीको अस्तित्व सिर्जना गर्न धनराज सक्रिय हुनुभयाे। जब कि २०५४ सालमा एमाले फुटेर माले भएपछि राजनीतिमा खास सक्रिय हुनुभएकाे थिएन। रवीन्द्र अधिकारीकाे चुनावी मोर्चामा मात्रै खटिँदै आएका थियाे। पार्टीसँग जोडिने माध्यम भने एमाले समर्थित उद्यमी व्यवसायीका बनाउनुभएकाे थियाे।

पोखरा महानगरपालिका ३३ भरतपोखरीमा २६ सालको चैतमा जन्मिनुभएका धनराज अहिले ५२ वर्षमा हुनुभएकाे छ। एमबिए, एमएड पढ्नुभएका उहाँले राजनीतिबाहेक उद्योग व्यवसायमा आफूलाई स्थापित गर्दा गर्दै लायन्स क्लबमार्फत समाजसेवामा सक्रिय बनाउनुभएकाे थियाे। उहाँ लायन्स क्लबको सर्वोच्च जिम्मेवारी गभर्नर पनि हुनुभयाे। व्यवसाय उहाँले पुस्तक पसलबाट सुरु गर्नुभएकाे थियाे। त्यसकै अनुभवबाट उहाँ प्रकाशनतिर होमिनुभयाे। पाठ्यपुस्तकको बजारमा उहाँको युनाइटेड पब्लिकेसनको एक किसिमको साम्राज्य छ।

जलस्रोत आयोजनाहरुमा पनि उहाँ लगानीकर्ता हुनुहुन्छ। एक राजनीतिकर्मी भन्नुहुन्छ, ‘बुद्धि पनि भएको, धन पनि भएको हुँदा उहाँलाई चुनाव जित्न सजिलो भयो।’ त्यसमाथि एमाले उम्मेदवार भने बासी अनुहार थिए।

स्कुल पढ्दै तत्कालीन मालेको विद्यार्थी संगठन अनेरास्ववियुमा लाग्नुभएका आचार्य जिल्ला कमिटी सदस्य, सचिव हुँदै २०४६ सालमा जिल्ला अध्यक्ष हुनुभयाे। २०४८ मा गण्डकी अञ्चलसमेत भएर पछि केन्द्रीय कमिटीसम्म पुग्नुभयाे। पृथ्वीनारायण क्याम्पसको स्ववियुमा उहाँ २०५१ सालमा सभापति निर्वाचित हुनुभएकाे थियाे। एमालेको जिल्ला कमिटी सदस्य र मालेको पनि त्यही जिम्मेवारीसम्म पुग्नुभएका आचार्यले व्यवसायमा जसरी छलाङ मार्नुभएकाे छ, त्यसैगरि राजनीतिमा पनि फड्को मार्नुभयाे।

source:-annapurna

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका