चितवन । नेकपा माओवादी केन्द्रकी रेनु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि पनि विजय हुने सुनिश्चित भएको छ ।
आज बिहान साढे ५ बजेको मत परिणाम अनुसार रेनुले ५१ हजार १ सय १२ मत पाउनुभएकाे छ । यसैगरी एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९ सय ७२ मत पाउनुभएकाे छ । रेनु र विजयबीचको मत अन्तर १२ हजार १ सय ४० छ ।
अब करिब १ एक हजार मत मात्र गन्न बाँकी छ । गन्न बाँकी मतभन्दा रेनुले अग्रता लिएको मत अन्तर धेरै भएपछि उहाँको जित सुनिश्चित भएको हो ।
मतगणनाको अन्तिम परिणाम सार्वजनिक नहुँदै जित सुनिश्चित भएपछि माओवादी कार्यकर्ताहरुले विजय उत्सव मनाइरहेका छन् । मत गणनास्थल औद्योगिक प्रदर्शनी केन्द्र वरपर माओवादी कार्यकर्ताहरुको भिड बढ्दै गएको छ ।
भरतपुरको मेयरका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल र एमाले नेता विजय सुवेदीबीच प्रतिस्पर्धा भएको थियो । सत्ता गठबन्धनको साझा उम्मेदवार रेनुविरुद्ध नेपाली कांग्रेसका बागीको रुपमा जगन्नाथ पौडेलले पनि प्रतिस्पर्धा गर्नुभएकाे थियाे । पौडेलले १४ हजार ७ सय २७ मत पाउनुभएकाे छ ।
यसैगरी उपमेयर तर्फ पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ । उहाँले ५१ हजार ९०३ मत पाउनुभएकाे छ । उहाँका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३ सय २६ मत पाउनुभएकाे छ ।
भरतपुरमा नेकपा एमाले र राप्रपाले तालमेल गरेकाे थियाे । मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङ उम्मेदवार हुनुहुन्थ्याे । तर उहाँहरु दुबै जना भारी मत अन्तरले पछि पर्नुभएकाे छ ।