पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। गत वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा खसेको कूल एक लाख ४३ हजार २ सय २६ मतमध्येमा मंगलबार बिहानसम्म एक लाख ३८ हजार २ सय ११ मतगणना सकिएको छ।
अब पाँच हजार १५ मतगणना बाँकी छँदा सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले पाँच हजार २ सय ८६ मतको अग्रता बनाउनुभएकाे छ। उहाँले गणना बाँकी रहेको मतभन्दा बढीको अग्रता बनाएपछि समर्थकहरूले विजयी खुसीयाली मनाउँदै विजयी जुलुसको तयारी गर्नुभएकाे छ।
हालसम्म प्रमुखका उम्मेदवार आचार्यले ५६ हजार ४ सय ७१ मत प्राप्त गरेकामा उहाँका निकटतम् प्रत्यासी नेकपा (एमाले)का कृष्णबहादुर थापाले ५१ हजार १ सय ८५ मत ल्याउनुभएकाे छ।
यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङले सत्ता गठबन्धनका उम्मेदवारलाई चार हजार ३५ मतान्तरले पछाडि पार्नुभएकाे छ। गुरुङ ५८ हजार ५ सय ८२ मतसहित विजय नजिक पुग्दा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटले ५४ हजार ५ सय ४७ मत ल्याउनुभएकाे छ। पोखरा महानगरपालिका वडा नं २२, ३२ र ३३ को आंशिक मतगणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
रासस