सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित हुनुभएकाे छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७ सय ६२ मतान्तरले पराजित गर्दै राई मेयरमा निर्वाचित हुनुभएकाे हाे ।
राईले २० हजार ८ सय २१ मत पाउनुभयाे भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८ सय २५ मत पाउनुभयाे ।
धरानमा विभिन्न सामाजिक विषय उठाएर आन्दोलन गर्दै आउनुभएका ३९ वर्षका राईले यस पटक लौरो चुनाव चिह्न लिएर मेयरमा प्रतिस्पर्धा गर्नुभएकाे छ ।
उपमेयरमा भने नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा निर्वाचित हुनुभएकाे छ । २० हजार ५१० मत ल्याएर बेघा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमलेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत मात्र पाउनुभएकाे थियाे ।