जनकपुरधाम । धनुषाको स्थानीय तहमा प्रतिस्पर्धा गरेका मुख्य दलका जिल्ला अध्यक्षहरु नै पराजित भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्षले निर्वाचनमा पराजय व्यहोरेका हुन् ।
नेपाली कांग्रेसका धनुषा जिल्ला सभापति योगेन्द्र पजियार क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा पराजित हुनुभएकाे छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार सुखदेव यादवले पराजित गर्नुभएकाे छ ।
यादवले सात हजार ९१३ मत ल्याएर निर्वाचित हुँदा उहाँका निकटतम प्रस्पर्धी पजियार सात हजार ३०० मत ल्याउनुभएकाे छ । पजियार निबर्तमान मेयर पनि हुनुहुन्छ ।
सबैलाइ नगरपालिकाको मेयरका लागि उम्मेदवारी दिनुभएका नेकपा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव तेस्रो नम्बरमा रहनुभयाे । यहाँ नेकपा माओवादी केन्द्रका कारीराम यादव चार हजार २१२ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका जगतसुन्दर साह चार हजार ७६ मत ल्याएर दोस्रो स्थानमा रहनुभएकाे छ ।
एमालेका जिल्ला अध्यक्ष राजकिशोर तीन हजार ५८१ मतसहित तेस्रो स्थानमा आउनुभएकाे छ । जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष पशुपति यादव कमला नगरपालिकामा पराजित हुनुभएकाे छ ।
उहाँ नेपाली कांग्रेसका उम्मेदवार विशेश्वर यादवसँग एक हजार २८ मतअन्तरले पराजित हुनुभएकाे हाे । निर्वाचित भएका विशेश्वरले तीन हजार ८८७ मत पाउँदा पशुपतिले २ हजार ८५९ मत पाउनुभएकाे छ ।
नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव धनुषाधाम नगरपालिकाको मेयरमा पराजित हुनुभएकाे छ । उहाँ तेस्रो नम्बरमा आउनुभएकाे छ ।
धनुषाधाममा कांग्रेसबाट बालेश्वर मण्डल दोस्रो पटक चार हजार ७१८ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका योगकुमार यादवले चार हजार १७९ मत प्राप्त गर्नुभएकाे छ । यादव भने तीन हजार २५९ मत ल्याएर तेस्रो स्थानमा रहनुभयाे ।