काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपमन्त्री उज्रा जियाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएकाे छ। अमेरिकी उपमन्त्री जियाले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेट गर्नुभएकाे हाे। जिया नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री हुनुहुन्छ।
उपमन्त्री जियाले नेपालमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीहरुको मानवअधिकार र उनीहरुको सुरक्षाका बारेमा प्रधानमन्त्री देउवासँग चासो राखेको बालुवाटार स्रोतले बताएको छ।
उपमन्त्री जिया शनिबार मध्यान्ह जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरको निरीक्षण भ्रमणमा जानुभएकाे थियाे। जियाले प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमणको निम्तोसमेत दिनुभएकाे उच्च स्रोतले बताएको छ।
यसैबीच अमेरिकी उपमन्त्री एवं तिब्बती मामिला संयोजक जियाले परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्नुभएकाे छ । भेटवार्तामा नेपाल र अमेरिका कुटनीतिक सम्बन्ध, नेपालमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीहरुको मानवअधिकारको बारेमा छलफल भएको थियो।